काठमाडौं । झण्डै सात वर्षसम्म धुलो, हिलो, जाम र सास्तीको पर्याय बनेको नारायणगढ-बुटवल सडकखण्ड अब अन्तिम चरणमा पुगेको छ। सडक विस्तारको अधिकांश काम सम्पन्न भएसँगै अहिले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर यात्रा सामान्यतया दुई घण्टाभित्र पूरा हुन थालेको छ।
गत वर्षसम्म दाउन्ने क्षेत्रमा हुने घण्टौँ लामो जामका कारण यात्रुले रात नै सडकमा बिताउनुपर्ने अवस्था थियो। वर्षायाम र चाडपर्वमा घर पुग्नसमेत मुस्किल हुने यो सडक अहिले भने सहज र सुरक्षित बनेको यात्रुहरूको अनुभव छ। कतिपय निजी सवारी चालकले नारायणगढ-बुटवल दूरी एक घण्टा ३० मिनेटमै पार गरेको बताएका छन्।
बुटवलका उद्योगी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढ पुग्न एक घण्टा ३० मिनेट मात्र लागेको बताए। रुपन्देहीका उद्योगी प्रकाश आचार्यका अनुसार परिवारसहित यात्रा गर्दा पनि एक घण्टा ५० मिनेटमै घर पुगेका थिए। विगतमा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनीहरूको स्मरण छ।
सार्वजनिक यातायात व्यवसायीहरू पनि सडकको अवस्थाबाट सन्तुष्ट देखिएका छन्। चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार पहिले रातभर जाममा बस्नुपर्ने अवस्था अहिले हटेको छ। यात्रु चढाउँदै-ओराल्दै जाँदा समेत तीन घण्टाभित्र गन्तव्य पुग्न सकिने भएको उनले बताए।
नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार पूर्वी र पश्चिमी दुवै खण्डको निर्माण करिब ९२ प्रतिशत सम्पन्न भइसकेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना, नाली जडान तथा केही साना काम मात्रै बाँकी रहेका छन्।
११३.३५ किलोमिटर लामो यो सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेन बनाइएको छ। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।
चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माण गरिरहेको यो आयोजना २०७५ चैत ८ गते सुरु भएको थियो। प्रारम्भिक लक्ष्य ४२ महिनाभित्र सम्पन्न गर्ने भए पनि पटक-पटक म्याद थपिएपछि अहिले अन्तिम चरणमा पुगेको हो। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्गको यात्रा अझ सुरक्षित, सहज र छिटो हुने अपेक्षा गरिएको छ।