काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित चार आरोहीको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ।
निम्सदाइको कम्पनी एलिट एक्स्पेडका अनुसार अत्यन्त जोखिमपूर्ण मौसम र कठिन भौगोलिक अवस्थाबीच सञ्चालन गरिएको उद्धार अभियानपछि निर्मल पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सुरक्षित रूपमा आधार शिविर पुर्याइएको हो। कम्पनीका अनुसार उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए। सिरबाज खानसहितको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरिएको छ।
उद्धार अभियानमा सहयोग पुर्याउने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट-बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानप्रति एलिट एक्स्पेडले आभार व्यक्त गरेको छ। कम्पनीले जारी गरेको वक्तव्यमा निम्सदाइको शव स्वदेश फर्काउनु केवल एक पर्वतारोहीको उद्धार मात्र नभई एक पति, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड परिवारको केन्द्रबिन्दुलाई घर फर्काउने प्रयास भएको उल्लेख गरिएको छ।
चारै जनाको शव आधार शिविरमा ल्याइएपछि उनीहरूको अन्तिम यात्रा परिवारसम्म पुग्ने बाटो खुलेको भन्दै कम्पनीले केही राहत महसुस भएको जनाएको छ। यसैबीच, हिमपहिरोपछि अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था सिर्जना हुनेबित्तिकै खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।
गत बिहीबार ब्रड पिकमा आएको भीषण हिमपहिरोमा परेर १० पर्वतारोही बेपत्ता भएका थिए। उनीहरू सबैको मृत्यु भएको पुष्टि भइसकेको छ।