काठमाडौं । जाम्बियामा सञ्चालन भइरहेको ‘एशियन लेजेन्ड्स लिग’ मा सहभागी भएका पाकिस्तानका एक दर्जनभन्दा बढी पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरमाथि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले कडा कारबाहीको तयारी गरेको छ।
जाम्बिया क्रिकेट युनियनले उक्त प्रतियोगितालाई आफूले कुनै पनि प्रकारको मान्यता नदिएको र लिग अवैध रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेपछि पीसीबीले आफ्ना खेलाडीविरुद्ध अनुशासनात्मक कारबाही अघि बढाएको हो। पीसीबीका अनुसार बोर्डको पूर्वस्वीकृति तथा आवश्यक अनुमति नलिई प्रतियोगितामा सहभागी भएका खेलाडीलाई आगामी दुई वर्षसम्म कुनै पनि विदेशी लिगमा सहभागी हुन आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्रदान गरिने छैन।
साथै, सो अवधिभर उनीहरू पीसीबी, पाकिस्तान सुपर लिग (पीएसएल) वा अन्य आधिकारिक प्रतियोगितामा प्रशिक्षक, मेन्टर, सल्लाहकार वा कुनै पनि जिम्मेवारीमा नियुक्त हुन अयोग्य हुनेछन्। गत जुलाई ३० देखि सुरु भएको प्रतियोगितामा ‘पाकिस्तान प्यान्थर्स’ नामक टोली सहभागी छ, जसमा अधिकांश खेलाडी पाकिस्तानका पूर्व राष्ट्रिय क्रिकेटरहरू रहेका छन्। पूर्व कप्तान मोहम्मद हफिज, सोहेल तनवीर र उमर अकमल पनि सुरुमा प्रतियोगितामा सहभागी हुन जाम्बिया पुगेका थिए। तर, प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक स्वीकृति नलिएको जानकारी पाएपछि उनीहरूले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।
यद्यपि, अन्य धेरै पूर्व क्रिकेटरले भने प्रतियोगितामा खेलिरहेका छन्। पाकिस्तान प्यान्थर्सको टोलीमा शर्जिल खान, कामरान अकमल, शोएब मलिक, इमरान नाजिर, सईद अजमल, यासिर शाह, मोहम्मद इरफान र हसन राजा लगायतका चर्चित खेलाडी समावेश छन्। प्रतियोगितामा पाकिस्तान प्यान्थर्ससँगै इन्डियन रोयल्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स, अफगानिस्तान पाथन्स र एशियन स्टार्स गरी कुल ६ टोलीको सहभागिता रहेको छ।
हालसम्म प्रतियोगितामा सहभागी आफ्ना खेलाडीमाथि कारबाहीको चेतावनी दिने क्रिकेट बोर्डमध्ये पाकिस्तान क्रिकेट बोर्ड पहिलो बनेको छ।