काठमाडौं । जनकपुर उपमहानगरपालिकाभित्र गुठी अन्तर्गत रहेका सात वटा ऐतिहासिक पोखरी र तिनका डिल अतिक्रमण गरेर निर्माण गरिएका घर-टहरामा अब डोजर चलाइने भएको छ। कर्फ्युका कारण अन्तिम समयमा स्थगित गरिएको अतिक्रमण हटाउने अभियान आगामी सातादेखि पुनः सुरु गर्ने तयारी गरिएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन कार्यान्वयन समितिले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरीको डिलमा रहेका अनधिकृत संरचना सात दिनभित्र स्वेच्छाले हटाउन निर्देशन दिएको थियो। तर तोकिएको अवधिमा कसैले पनि संरचना नहटाएपछि अब बल प्रयोग गरेर अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समन्वयमा गुठी प्रशासक शैलेशराज कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरिएको छ। टोलीले अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण गरिसकेको छ भने डोजरसहित आवश्यक तयारी पनि पूरा भएको जनाएको छ। समितिका प्रवक्ता जनक पोखरेलका अनुसार हालसम्म ४९ मध्ये १३ वटा पोखरीको नापजाँच सम्पन्न भइसकेको छ। तीमध्ये सात वटा पोखरीको डिलमा बनेका कच्ची र पक्की गरी ४२ वटा घर-टहरा हटाइने तयारी गरिएको छ।
समितिलाई जनकपुर क्षेत्रका पोखरी, मठ-मन्दिर, रामजानकी मन्दिर परिसर तथा अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाउने जिम्मेवारी दिइएको छ। यसअन्तर्गत २०६२ को उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७६ को सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी आयोगको प्रतिवेदन र गुठी जग्गासम्बन्धी अन्य सिफारिसहरू कार्यान्वयन गरिने जनाइएको छ।
अभियान सुरु हुने तयारीसँगै गुठीको जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयमा त्रास बढेको छ। घर खाली गर्नुपर्ने अवस्था आउने चिन्तासँगै उनीहरू अन्योलमा छन्। केन्द्र सरकारले हालै काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएपछि जनकपुरका प्रभावित बासिन्दामा पनि थप चासो र चिन्ता बढेको देखिएको छ।