काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतमालामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको भीषण हिमपहिरोपछि बेपत्ता भएका अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान शनिबार पुनः सञ्चालन गरिने भएको छ। प्रतिकूल मौसम र भारी हिमपातका कारण शुक्रबार रोकिएको उद्धार कार्य मौसममा सुधार आएपछि हेलिकोप्टर र स्थलमार्गबाट फेरि अघि बढाइने पाकिस्तानको गिलगिट-बाल्टिस्तान प्रशासनले जनाएको छ।
अहिलेसम्म खोजीका क्रममा चार जनाको शव फेला परेको छ। तीमध्ये ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकी आरोही सारा म्यालोरी (शरीरका अवशेष) र नेपाली आरोही पुरबहादुर गुरुङको औपचारिक पहिचान भइसकेको छ भने चौथो शवको पहिचान हुन बाँकी छ। उद्धार गरिएका शवहरू स्कार्दुस्थित कम्बाइन्ड मिलिटरी अस्पतालमा राखिएको छ।
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)सहित अझै ६ जना आरोही बेपत्ता छन्। उद्धार टोलीले ड्रोन, जीपीएस संकेत तथा उच्च हिमाली उद्धारकर्मीको सहयोगमा उनीहरूको खोजी जारी राखेको छ। पाकिस्तानका चर्चित पर्वतारोही सरबाज खानको नेतृत्वमा भइरहेको अभियानमा नेपालका मिङ्मा जी शेर्पा, सोना शेर्पालगायत अनुभवी शेर्पाहरू पनि सहभागी छन्।
उक्त आरोहण टोलीसँग साउन १४ गते बिहान सम्पर्क विच्छेद भएको थियो। त्यसपछि क्याम्प-२ बाट क्याम्प-३ तर्फ उक्लिने क्रममा करिब ६,६०० मिटर उचाइमा ठूलो हिमपहिरो गएको पुष्टि भएको थियो। प्रारम्भिक जीपीएस तथ्यांकअनुसार हिमपहिरोले आरोहीहरूको समूहलाई करिब एक हजार मिटरभन्दा बढी तल बगाएको अनुमान गरिएको छ।
उद्धार अभियानमा पाकिस्तान सेना, स्थानीय उच्च हिमाली उद्धार टोली र अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको संयुक्त समन्वय रहेको छ। मौसम अनुकूल रहे शनिबार दिनभर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइने जनाइएको छ।