काठमाडौं । सुनसरीमा गत केही दिनदेखि जारी रहेको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाएको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जारी गरेको सूचनाअनुसार जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो।
यद्यपि, शान्ति सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्न प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा लागू भएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, जुलुस, सभा वा प्रदर्शन गर्न रोक लगाइएको छ।
प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका-१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ-बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका-१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ-बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू रहनेछ।
सुनसरीमा साउन १२ गते राति भएको हिंसात्मक घटनापछि प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको थियो। पछिल्लो निर्णयसँगै कर्फ्यु हटाइए पनि संवेदनशील क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा भने यथावत् राखिएको प्रशासनले जनाएको छ।