काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्दै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकार निरन्तर र योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराई-मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको भन्दै नागरिकलाई संयमता अपनाउन र अफवाहमा नलाग्न आग्रह गरे।
उनले सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकसम्म पुगेर सुरक्षा प्रत्याभूति दिलाउने, घटनाको निष्पक्ष छानबिन गर्ने र शान्ति-सुरक्षाको अवस्था सुदृढ बनाउने रहेको बताए। साथै, सीमा नाकामा आवतजावतलाई व्यवस्थित बनाइएको र परिस्थिति थप बिग्रन नदिन बहुपक्षीय रणनीति लागू गरिएको जानकारी दिए।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण निर्माण गर्न तथा संकटको समयमा जनताको साथमा उभिन आग्रह गरे। उनले जनप्रतिनिधिको वास्तविक दायित्व कठिन परिस्थितिमा नागरिकको घरदैलोमा पुगेर सहयोग गर्नु भएको उल्लेख गरे।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल प्रभावित क्षेत्रमा जाने प्रतिबद्धता जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले प्रभावित क्षेत्रका नागरिकमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको पनि बताएका छन्।
सांसदहरूले स्थानीय तहमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग निरन्तर संवाद आवश्यक रहेको सुझाव दिएका छन्। साथै, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।