काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्।
बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नेपालको ऐतिहासिक पहिचान र परम्परा भएको उल्लेख गर्दै त्यसलाई जोगाउँदै शान्ति, अमनचयन र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति-सुव्यवस्था पुनःस्थापित गर्न सरकारबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरेका छन्। साथै, समुदायबीच एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राखी परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
अपिलमार्फत राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।