काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले करिब दुई मिनेट लामो टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुको पहिलो झलक दर्शकमाझ ल्याएको हो।
सार्वजनिक टिजरले दिदी-भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै संवेदनशील कथा प्रस्तुत गरेको छ। फिल्ममा नीता ढुंगानाले अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी युवतीको भूमिका निर्वाह गरेकी छन्, जो स्पष्ट रूपमा बोल्न सक्दिनन्। उनका भाइको भूमिकामा गायक अशोक दर्जी देखिएका छन्। टिजरमा दुवैबीचको आत्मीय सम्बन्ध र संवादले दर्शकको मन छुने प्रयास गरेको छ भने पृष्ठभूमिमा सुनिने अशोक दर्जीको गीतले भावनात्मक पक्षलाई थप प्रभावशाली बनाएको छ।
साहिल खानले तयार पारेको टिजरले फिल्मप्रति दर्शकमाझ उत्सुकता बढाएको छ। जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गते प्रदर्शनमा आउन लागेको फिल्ममा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायत कलाकारको अभिनय रहेको छ।
नीता फिल्म्सको प्रस्तुति रहेको ‘पार्वती’का निर्माता ज्योतिष तथा अभिनेता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी शंकर पाण्डेले सम्हालेका छन्। फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन सुदीप बराल, सम्पादन साहिल खान, पार्श्व ध्वनि एलिस कार्की र शिवम् रसाइली, नृत्य निर्देशन रामजी लामिछाने तथा संगीत प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माले दिएका छन्।