काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन् भने रातभर सञ्चालन गरिएको उद्धार अभियान अझै जारी रहेको छ।
कुमामोटो प्रान्तीय सरकारका अनुसार भूकम्पपछि एइअन सपिङ मलमा भएको विस्फोटपछि आठ जनालाई जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना हृदय र श्वासप्रश्वास बन्द भएको अवस्थामा फेला परेका छन्। अन्य घाइतेहरूको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेका छन्। भवनभित्र फसेकाहरूको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष टोली परिचालन गरिएको छ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएका घटना तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिएकी छन्। भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ।
अधिकारीहरूका अनुसार करिब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्फोटको कारण अझै पुष्टि नभए पनि ग्यास चुहावट भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। भूकम्पका कारण मुख्य राजमार्गमा ठूला चिरा परेका छन् भने रेल सेवा स्थगित गरिएको छ। कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन्।
यसैबीच, टीएसएमसी, सोनी, फुजिफिल्म र अन्य औद्योगिक कम्पनीहरूले कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् भने केही कारखानाको उत्पादन अस्थायी रूपमा रोकिएको छ। जापानको मौसम विज्ञान निकायले आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने चेतावनी दिँदै पहिरोको जोखिम उच्च रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको भए पनि प्रभावित क्षेत्रमा रहेका आणविक विद्युत् केन्द्रहरू सुरक्षित रहेको सम्बन्धित निकायले जनाएको छ।