काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा दुई पक्षबीच भएको हिंसात्मक झडपपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्युका बीच बुधबार बिहान जिल्लाको अवस्था शान्त देखिएको छ। राति अबेरसम्म झडप, आगजनी र तोडफोडका घटना भए पनि बिहानदेखि कुनै प्रदर्शन नभएको र सुरक्षा निकायले सम्पूर्ण अवस्था नियन्त्रणमा लिएको जनाएको छ।
दक्षिणी सुनसरीका संवेदनशील क्षेत्रमा नेपाली सेनाले गस्ती सुरु गरेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो सुरक्षा परिचालन गरिएको छ। मुख्य बजारदेखि ग्रामीण क्षेत्रसम्म सुरक्षा उपस्थिति बढाइएकाले अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ। हिजो दिनभर जिल्लाका विभिन्न स्थानमा झडप हुँदा आगजनी र तोडफोडका कारण निजी सम्पत्तिमा क्षति पुगेको छ। यद्यपि क्षतिको यकिन विवरण अझै सार्वजनिक गरिएको छैन। देवानगञ्ज क्षेत्रमा राति दुई समूहबीच पुनः झडप भएको थियो।
यसैबीच, सामाजिक सञ्जालमा धारिलो हतियार प्रहार भएको भन्दै भ्रामक तस्बिरहरू व्यापक रूपमा फैलाइएकाले त्यस्ता अफवाहमा विश्वास नगर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताएका छन्। कर्फ्यु अवधिमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।
हाल इटहरी उपमहानगरपालिका-१६ र १७, रामधुनी नगरपालिका-१ र ५, साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश लागू रहेको छ। प्रशासनले नागरिकलाई संयम अपनाउन र सुरक्षा निकायसँग सहयोग गर्न अपिल गरेको छ।