काठमाडौं । देशभर सक्रिय मनसुनका कारण काठमाडौं उपत्यकासहित ११ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बैतडी, डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ। विशेष गरी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, दूधकोसी, सुनकोसी, वाग्मती, नारायणी, कर्णाली र महाकाली जस्ता ठूला नदीहरूको बहाव पनि बढ्ने पूर्वानुमान गरिएको छ। यद्यपि आज बिहानसम्मको मापनअनुसार यी प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको औसत स्थानको आसपास रहेकाले धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
साना नदी, खोल्सा तथा पहाडी क्षेत्रमा अचानक बाढी आउन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न, नदी तर्ने कार्यबाट बच्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न विज्ञहरूले आग्रह गरेका छन्।