काठमाडौं । वरिष्ठ अभिनेता नीर शाहको निर्देशनमा बनेको फिल्म ‘कमला मिस’को पहिलो गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ। गीतले शिक्षिका र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, माया, समर्पण र भावनात्मक बन्धनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा रुबाई र सरोदी कुमारको स्वर रहेको छ। गीतमार्फत एकअर्काप्रति आकर्षित हुँदै गएका दुई पात्रको मनोभाव र भावनात्मक यात्रा चित्रण गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार वासना तिमिल्सिना शिक्षिकाको भूमिकामा देखिएकी छन् भने आरभ दाहाल होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीको भूमिकामा छन्। अभिभावकको माया-स्नेहबाट वञ्चित बालकप्रति शिक्षिकाले देखाउने ममता, संरक्षण र आत्मीयतालाई भिडियोमा संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। यसले फिल्मको मुख्य कथावस्तुको झलकसमेत दिएको छ।
प्रसिद्ध नाटककार तथा साहित्यकार विजय मल्लको चर्चित नाट्यकृति ‘कोही किन बर्बाद होस्’बाट प्रेरित भएर निर्माण गरिएको फिल्ममा वासना तिमिल्सिना र आरभ दाहालसँगै नीर शाह, रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडा र भोला सुवेदी (प्रणव) लगायतका कलाकारहरूको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्ममा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माताका रूपमा रहेका छन्। साहित्यकार विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले तयार पारेका हुन् भने छायांकन शिवराम श्रेष्ठले गरेका छन्।
पारिवारिक तथा भावनात्मक कथावस्तु बोकेको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।