काठमाडौं । काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा बर्डफ्लुको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो तीन दिनमै थप १७ स्थानमा संक्रमण पुष्टि भएसँगै प्रभावित स्थानको संख्या ५७ पुगेको छ। पशु सेवा विभागका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला भक्तपुर हो, जहाँ २५ स्थानमा संक्रमण भेटिएको छ। काठमाडौंका १५, ललितपुरका १२ र काभ्रेका ५ स्थानमा पनि बर्डफ्लु पुष्टि भएको छ।
विभागका अनुसार यसपटक संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ, किनभने रोग मुख्यतः स्थानीय स्तरमा पालिएका कुखुरामा फैलिएको छ। संक्रमित कुखुरा जथाभावी फ्याँक्दा तिनको सिनो खाने कागले भाइरस एक ठाउँबाट अर्को ठाउँमा पुर्याइरहेको विभागको निष्कर्ष छ। यसले विशेषगरी उपत्यकाका काँठ क्षेत्रमा संक्रमण तीव्र बनाएको बताइएको छ। विभागले मरेका कुखुरा खुला ठाउँमा नफ्याँकी सुरक्षित रूपमा खाल्डोमा गाड्न किसानलाई आग्रह गरेको छ।
संक्रमण नियन्त्रणका लागि हालसम्म देशभर ६ लाखभन्दा बढी कुखुरा, झण्डै १० लाख अन्डा र करिब २ लाख किलो दाना नष्ट गरिएको छ। सरकारले प्रभावित किसानलाई राहत दिन ५२ करोड रुपैयाँको कोष व्यवस्था गरेको छ भने हालसम्म करिब ५७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
बर्डफ्लुको त्रासका कारण काठमाडौं उपत्यकामा कुखुराको मासुको बिक्री २० देखि ३० प्रतिशतसम्म घटेको व्यवसायीहरूले बताएका छन्। उपभोक्ताको रोजाइ खसीको मासुतर्फ बढेपछि त्यसको मूल्यसमेत उकालो लागेको छ।
यद्यपि स्वास्थ्य विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु र अन्डा खान सुरक्षित रहेको बताएका छन्। पशु सेवा विभागले कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा मासु र अन्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा भान्साको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, कुखुरा बिरामी परे वा एक्कासि मर्न थाले तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले सबै किसानसँग अपिल गरेको छ।