काठमाडौं । डिजिटल प्लेटफर्मको बढ्दो प्रभावका कारण नेपाली फिल्मका लागि हलमा ५१ दिन प्रदर्शन हुनु दुर्लभ बन्दै गएको अवस्थामा फिल्म ‘लालीबजार’ले यो उपलब्धि हासिल गरेको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार देशभरका विभिन्न हलमा सफलतापूर्वक ५१ दिन पूरा गरेको हो।
निर्माता कम्पनी षट्कोण आर्ट्सका अनुसार ‘लालीबजार’ले क्यूएफएक्सका भक्तपुर, सिभिल मल र सिटी स्क्वायर, बिग मुभिज कमलपोखरी, सिडिसी सिनेमाज् सुन्धारा, सिके सिनेमाज् सितापाइला, रञ्जना सिनेप्लेक्स न्यूरोड, फ्रेन्ड्स सिनेमाज् बुटवल तथा इलाम र नेपालगञ्जस्थित सिने रोयल हलमा ५१ दिने यात्रा पूरा गरेको हो। यसअघि माघ १६ गते प्रदर्शनमा आएको ‘आ बाट आमा’पछि ५१ दिन मनाउने यो पहिलो नेपाली फिल्म बनेको छ।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराईले ५१ दिनको अवसरमा विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। साथै, फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन पनि सुरु भइसकेको उनले बताए। उनका अनुसार हाल युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको फिल्म चाँडै जापान, अस्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुनेछ।
‘लालीबजार’ यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनिसकेको छ। हालसम्म फिल्मले ९ करोड ३२ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। पछिल्ला दुई सातामा व्यापार केही घटे पनि नयाँ नेपाली फिल्मको अभावका कारण अझै केही समय हलमा राम्रो प्रदर्शन जारी रहने अपेक्षा गरिएको छ।
यम थापाको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, जानकी कठायत र सरस्वती अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्ममा डेब्यु गरेका छन्।