काठमाडौं । अपेक्षाअनुसार मनसुनी वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर जम्मा ११ दशमलव ३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ४ दशमलव २७ प्रतिशत बिन्दुले कम हो।
गत वर्ष असार १३ गतेसम्म १५ दशमलव ६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। देशभर बर्खे धान खेतीका लागि करिब १३ लाख ८१ हजार हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म केवल १ लाख ५६ हजार ५ सय ८३ हेक्टरभन्दा केही बढी क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।
प्रदेशगत तथ्यांक हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२ दशमलव ८ प्रतिशत धान रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २० दशमलव ९ प्रतिशत, गण्डकीमा १२ दशमलव ७ प्रतिशत, बागमतीमा १२ दशमलव ६ प्रतिशत, सुदूरपश्चिममा ९ दशमलव ३ प्रतिशत, कोशीमा ८ दशमलव ३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।
गत वर्षको तुलनामा लुम्बिनी र मधेशबाहेक सबै प्रदेशमा धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि क्षेत्रका जानकारहरूका अनुसार पर्याप्त वर्षा नहुँदा खेतमा आवश्यक चिस्यान कायम हुन नसकेकाले किसानले रोपाइँलाई अपेक्षित रूपमा अघि बढाउन सकेका छैनन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत २१४ मिलिमिटरको करिब ७० प्रतिशत मात्रै हो। औसतभन्दा कम वर्षाले धान रोपाइँमा प्रत्यक्ष असर परेको कृषि विज्ञहरूको भनाइ छ।
धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि आगामी दिनमा पर्याप्त वर्षा भए रोपाइँको गति तीव्र हुने अपेक्षा गरिएको छ।