काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत ‘जुरी प्राइज’ जितेर इतिहास रचेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदाको अवसर पारेर फिल्म रिलिज गरिने जानकारी दिएको हो।
निर्माण पक्षका अनुसार फिल्मलाई सन् २०२७ मा आयोजना हुने विश्व प्रतिष्ठित ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको आधिकारिक प्रविष्टिका रूपमा पठाउने लक्ष्यसहित भदौमै प्रदर्शन गर्न लागिएको हो। ओस्कार छनोटका लागि आवेदन दिनुअघि कम्तीमा सात दिनसम्म व्यावसायिक रूपमा चलचित्र हलमा प्रदर्शन भएको हुनुपर्ने प्रावधान रहेकाले पनि प्रदर्शन मिति तय गरिएको जनाइएको छ।
‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जित्ने पहिलो नेपाली फिल्म बनेको छ। यो उपलब्धिलाई नेपाली चलचित्र उद्योगकै ऐतिहासिक सफलता मानिएको छ। पुरस्कार जितेपछि चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले निर्माण टिमलाई नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो भने काठमाडौं महानगरपालिकाले पनि १० लाख रुपैयाँ प्रदान गरेको छ।
कान्समा प्रिमियर भएपछि फिल्मले अन्तर्राष्ट्रिय स्तरमा समेत व्यापक प्रशंसा बटुलेको थियो। भारतीय चर्चित निर्देशक तथा अभिनेता अनुराग कश्यपले फिल्मको अन्तिम दृश्यलाई आफूले कान्समा हेरेका उत्कृष्ट दृश्यहरूमध्ये एक भन्दै नेपाली सिनेमाले ठूलो फड्को मारेको प्रतिक्रिया दिएका थिए।
अविनास विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको संघर्ष र जीवनको मार्मिक कथा प्रस्तुत गरेको छ। फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।