काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारहरूले स्थायी बसोबासको विकल्प नदिई जबरजस्ती हटाउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।
बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारलाई असार १२ गतेभित्र उक्त स्थान खाली गर्न सूचना जारी गरेपछि सुकुम्बासीहरू आक्रोशित बनेका हुन्। उनीहरूले सरकारले सुरक्षित र दीर्घकालीन व्यवस्थापनको सुनिश्चितता नगरी आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्।
सुकुम्बासीहरूको भनाइ अनुसार समितिले सरकारबाट उपलब्ध गराइने भनिएको २५ हजार रुपैयाँ वितरणका लागि बैंक खाताको विवरण मागेको छ। तर उनीहरू यसलाई राहतभन्दा पनि होल्डिङ सेन्टर खाली गराउने प्रयासका रूपमा बुझिरहेका छन्। सरकारले पाँच दिनभित्र रकम लिएर आफ्नै व्यवस्थापन गर्न दबाब दिएको उनीहरूको गुनासो छ।
यसैबीच, होल्डिङ सेन्टरभित्र फोटो तथा भिडियो खिच्न रोक लगाइएको भन्दै पनि सुकुम्बासीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफ्नो अवस्थाबारे बाहिर जानकारी दिन समेत कठिनाइ भएको बताएका छन्। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै सुकुम्बासीहरूले होल्डिङ सेन्टर बाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँस गर्दै विभिन्न माग सार्वजनिक गरेका छन्। उनीहरूले भूमि समस्या समाधान आयोग गठन भइसकेकाले स्थानीय सरकारमार्फत विस्थापित परिवारहरूको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गर्न माग गरेका छन्।
यस्तै, जबरजस्ती उठिबास गराइएका परिवारलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्ने, स्थायी समाधान नभएसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा-सुविधा उपलब्ध गराउनुपर्ने तथा सुरक्षित वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
सुकुम्बासीहरूले सरकारी नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि दीर्घकालीन र सम्मानजनक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले माग सम्बोधन नभए पुरानै बस्तीमा फर्केर पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्।