काठमाडौं । पछिल्ला महिनाहरूमा विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता क्रमशः कम हुँदै गएको छ। इरान-अमेरिका तनावका कारण उकालो लागेको कच्चा तेलको मूल्य अहिले युद्धअघिकै स्तरमा झरेको छ, जसले विश्व अर्थतन्त्र र उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० अमेरिकी डलरको आसपासमा झरेको छ भने अमेरिकी बेन्चमार्क डब्ल्यूटीआई क्रुड पनि ७० डलरभन्दा कम मूल्यमा कारोबार भइरहेको छ। यससँगै युद्ध र आपूर्ति अवरोधका कारण सिर्जना भएको अतिरिक्त मूल्य लगभग समाप्त भएको विश्लेषण गरिएको छ।
युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७२.४८ डलर रहेको थियो। पछिल्लो कारोबारमा ब्रेन्ट क्रुड ७२.२४ देखि ७३.३४ डलरको बीचमा कारोबार भइरहेको छ भने डब्ल्यूटीआई क्रुडको मूल्य ६९.४० देखि ७०.०७ डलरको हाराहारीमा रहेको छ।
विश्लेषकहरूका अनुसार मूल्य घट्नुको प्रमुख कारण विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत पुनः सामान्य हुनु हो। हाल उक्त मार्ग हुँदै दैनिक करिब दुई करोड ब्यारेल कच्चा तेल ढुवानी भइरहेको छ, जुन युद्धअघिकै स्तर बराबर रहेको बताइएको छ।
यसैबीच, अमेरिका र इरानबीचको तनाव क्रमशः कम हुँदै जानु तथा पाकिस्तानको मध्यस्थतामा अघि बढाइएको कूटनीतिक पहलले पनि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश दिएको छ। वार्ताको वातावरण बन्न थालेपछि तेल आपूर्तिमा सहजता आएको र लगानीकर्ताको विश्वास बढेको बताइएको छ।
अर्कोतर्फ, अमेरिकाको दैनिक कच्चा तेल उत्पादन एक करोड ३८ लाख ब्यारेलभन्दा बढी पुगेको छ, जुन इतिहासकै उच्च स्तर मानिएको छ। उत्पादन वृद्धि र आपूर्ति सहजताले पनि मूल्य घटाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ।
ऊर्जा बजारमा आएको यो स्थिरताले तेल आयातमा निर्भर मुलुकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। नेपालजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने देशहरूमा समेत अन्तर्राष्ट्रिय बजारको मूल्य घट्दा इन्धन मूल्यमा सकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ।