काठमाडौं । हिमाली जिल्ला हुम्लामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीयवासी, कर्मचारी तथा होटल व्यवसायीहरू समस्यामा परेका छन्। गत एक महिनादेखि ग्यास सिलिन्डरको आपूर्ति अवरुद्ध हुँदा जिल्लाभरका उपभोक्ताहरू वैकल्पिक उपाय अपनाउन बाध्य भएका छन्।
सदरमुकाम सिमकोटसहित जिल्लाका विभिन्न गाउँपालिकाहरूमा ग्यासको अभाव चुलिएको छ। सिमकोटस्थित होटल व्यवसायीहरूका अनुसार केही समयअघि आधा भरिएका सिलिन्डर उपलब्ध भए पनि हाल ती समेत सकिएपछि दैनिक कामकाज प्रभावित भएको छ। नेपालगञ्ज र सुर्खेतबाट हुने ग्यास आपूर्ति नियमित हुन नसक्दा जिल्लामा संकटको अवस्था सिर्जना भएको बताइएको छ।
ग्यास लिन दैनिक आउने उपभोक्ताहरू खाली हात फर्किन बाध्य भएका छन्। सीमित मात्रामा उपलब्ध भएका आधा भरिएका सिलिन्डरका लागि उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार आधा सिलिन्डरकै मूल्य १ हजार ७५० रुपैयाँसम्म पुगेको छ।
ग्यास अभावको प्रत्यक्ष असर सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूमा पनि परेको छ। घरमा खाना पकाउने व्यवस्था नहुँदा धेरै कर्मचारी होटलमा निर्भर हुन थालेका छन्। होटल व्यवसायीहरू भने ग्यास अभावका कारण सेवा सञ्चालन गर्न कठिन भइरहेको बताउँछन्।
सिमकोट मात्र नभई सर्केगाड, चंखेली, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिकामा समेत ग्यास अभावको समस्या देखिएको छ। जिल्लाका अधिकांश बजार तथा बस्तीमा ग्यास सिलिन्डर नपाइने अवस्था रहेको स्थानीयहरूले बताएका छन्। ग्यास अभाव बढ्दै गएपछि स्थानीयवासीहरू पुनः दाउरामा निर्भर हुन थालेका छन्। विद्युत आपूर्ति पनि नियमित नहुँदा खाना पकाउन दाउराको प्रयोग बढेको हो। हाल एक भारी दाउराको मूल्य करिब १ हजार २०० रुपैयाँ पुगेको बताइएको छ।
पछिल्ला वर्षहरूमा ग्यासको सहज उपलब्धतासँगै दाउराको प्रयोग घट्दै गएको थियो। तर, आपूर्ति व्यवस्था प्रभावित भएपछि स्थानीयहरू फेरि परम्परागत इन्धन प्रयोग गर्न बाध्य बनेका छन्। सरोकारवाला निकायले तत्काल ग्यास आपूर्ति सहज बनाउन पहल गर्नुपर्ने माग स्थानीयवासीहरूले गरेका छन्।