काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा एक मिनेटभन्दा कम समयको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। देशको इतिहासमै एक शताब्दीभन्दा बढी समयपछि आएको सबैभन्दा शक्तिशाली प्राकृतिक विपत्तिपछि सरकारले देशव्यापी संकटकाल घोषणा गरेको छ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै संकटकाल घोषणा गरेकी हुन्। सरकारले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विशेष आपतकालीन संयन्त्र सक्रिय गरेको छ भने विपद् व्यवस्थापनको नेतृत्व एक जनरललाई जिम्मा दिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प याराकुई राज्यको सान फेलिपे नजिक २२ किलोमिटर गहिराइमा गएको थियो। त्यसको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प मोरोन क्षेत्र नजिक १० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पपछि हालसम्म २० भन्दा बढी पराकम्पहरू महसुस गरिएका छन्।
यूएसजीएसले दोस्रो भूकम्पपछि व्यापक मानवीय र भौतिक क्षतिको उच्च जोखिम औँल्याएको छ। प्रारम्भिक प्रक्षेपणअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको छ भने १ लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने जोखिमसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि केन्द्रविन्दुबाट करिब १ हजार ७ सय किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रसम्म प्रभाव महसुस गरिएको थियो। राजधानी काराकासमा दर्जनौँ भवनहरू भत्किएका छन् भने कतिपय संरचनामा गम्भीर क्षति पुगेको छ। ध्वस्त भवनका भग्नावशेषभित्र फसेका नागरिकहरूको उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
भूकम्पपछि राजधानीमा पेट्रोल आपूर्ति प्रभावित भएको छ भने रेल, मेट्रो तथा हवाई सेवा बन्द गरिएको छ। राजधानी बाहिर रहेको देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल माइकेटियाको संरचनामा समेत क्षति पुगेपछि विमानस्थल बन्द गरिएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रमा ला गुएरा, अरागुआ, काराबोबो र फाल्कोन राज्य रहेका छन्। फाल्कोनका गभर्नर भिक्टर क्लार्कका अनुसार दर्जनौँ घाइतेहरूको उपचार भइरहेको छ भने केही नागरिक अझै भग्नावशेषभित्र फसिरहेको आशंका गरिएको छ।
विपत्तिपछि सरकारले देशभरका विद्यालय तथा कलेजहरू बन्द गरेको छ। शिक्षा मन्त्रालयले केही विद्यालयहरूलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ। साथै राष्ट्रपति रोड्रिगेजले सम्पूर्ण स्वास्थ्यकर्मीलाई तत्काल अस्पतालहरूमा उपस्थित भई घाइतेहरूको उपचारमा खटिन निर्देशन दिएकी छन्।
यसैबीच, संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई मानवीय सहायता तथा उद्धार टोली उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी अधिकारीहरूले खोज तथा उद्धार, स्वास्थ्य सेवा र राहत सामग्री पठाउन अन्तरिम सरकारसँग समन्वय भइरहेको बताएका छन्।
राजनीतिक संक्रमणको संवेदनशील अवस्थाबाट गुज्रिरहेको भेनेजुएलामा आएको यो महाविपत्तिले देशलाई थप संकटमा धकेलेको विश्लेषण गरिएको छ। उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको यथार्थ विवरण अझै आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।