काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताको रौनक चीनमा पनि व्यापक रूपमा देखिन थालेको छ। प्रत्यक्ष रूपमा खेल हेर्न स्टेडियम पुग्न नसकेका चिनियाँ फुटबल समर्थकहरू भने विश्वकपसँग सम्बन्धित सामग्री खरिद गर्न बजार र अनलाइन प्लेटफर्मतर्फ आकर्षित भएका छन्।
विश्वकपमा प्रयोग हुने अधिकांश व्यापारिक सामग्री चीनमै उत्पादन हुने भएकाले देशभरका खुद्रा पसल र अस्थायी ‘पप-अप स्टोर’हरूमा समर्थकहरूको उल्लेख्य भीड देखिएको छ। प्रतियोगिता सुरु भएसँगै बेइजिङसहितका प्रमुख सहरमा विश्वकप सामग्री किन्ने ग्राहकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ।
विश्वकपको उद्घाटन दिनमै बेइजिङका विभिन्न किनमेल केन्द्रहरूमा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। ग्राहकहरूले जर्सी, मस्कट, खेलौनादेखि विभिन्न सङ्कलनयोग्य सामग्री खरिद गर्दै प्रतियोगिताको उत्साह मनाइरहेका छन्। धेरै समर्थकहरूले चार वर्षमा एकपटक मात्र आयोजना हुने विश्वकपसँग सम्बन्धित स्मरणीय सामग्री सङ्कलन गर्न चाहेको बताएका छन्।
प्रमुख ई-कमर्स प्लेटफर्महरूको तथ्यांकअनुसार विश्वकपसँग सम्बन्धित सामग्रीको खोजी र खरिद दुवैमा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी खेलौना, मस्कट तथा सङ्कलनयोग्य वस्तुको बिक्रीमा १५० प्रतिशतभन्दा बढी वृद्धि भएको जनाइएको छ।
समर्थकहरूले आफ्नो मनपर्ने खेलाडीको नाम र जर्सी नम्बर छापेर व्यक्तिगत डिजाइनका जर्सी तयार पार्ने क्रम पनि बढेको छ। यसले विश्वकपको उत्साहलाई अझ व्यक्तिगत र विशेष बनाएको व्यवसायीहरूको भनाइ छ। हाल बजारमा सबैभन्दा बढी बिक्री हुने जर्सीहरूमा अर्जेन्टिना, जर्मनी र स्पेनका टोलीका जर्सी अग्रस्थानमा रहेका छन्। ती टोलीहरूको लोकप्रियताका कारण समर्थकहरूबीच सम्बन्धित सामग्रीको माग उच्च देखिएको छ।
करिब ४० दिनसम्म चल्ने विश्वकप प्रतियोगिताको माहोलसँगै अनलाइन तथा अफलाइन बजारमा किनमेलको उत्साह अझ बढ्ने अनुमान गरिएको छ। विश्व फुटबलको महाकुम्भ मानिने प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुने तालिका छ।