काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यसहित प्रविधिको प्रयोगलाई तीव्रता दिइएको छ। हालसम्म उपत्यकाभित्र सञ्चालनमा रहेका तीन हजार ३०३ वटा सार्वजनिक सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यात्रुको सुरक्षा सुनिश्चित गर्नुका साथै सवारी सञ्चालनको प्रभावकारी निगरानी गर्न सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले नियमित अनुगमन थालेपछि यातायात व्यवसायीहरू पनि प्रविधि जडानमा सक्रिय बनेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुर्व्यवहार, बढी भाडा असुली तथा सवारी सञ्चालनसँग सम्बन्धित गतिविधिको निगरानी र नियन्त्रणका लागि क्यामेरा तथा जीपीएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
उहाँका अनुसार ड्यासक्यामेरा र सिसीक्यामेराले सवारीभित्र तथा बाहिर हुने गतिविधिको अभिलेख राख्ने भएकाले दुर्घटना वा विवादका घटनामा वास्तविक तथ्य पत्ता लगाउन सहज हुनेछ। साथै दुर्घटनाको दोष निर्धारण र बीमा दाबीका क्रममा देखिने समस्या समाधानमा समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।
जीपीएस प्रणाली जडान भएपछि सवारीधनीले आफ्नो गाडीको वास्तविक अवस्थिति, गति र सञ्चालनको अवस्था अनलाइनमार्फत नै निगरानी गर्न सक्नेछन्। यसले चालकको जिम्मेवारी बढाउनुका साथै सवारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक सवारीमा आधुनिक प्रविधि जडान गर्नु सकारात्मक कदम भएको बताउँदै सरकारले स्पष्ट कार्यविधि ल्याए सबै सवारीसाधनमा प्रणाली विस्तार गर्न व्यवसायीहरू तयार रहेको बताउनुभयो।
ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस प्रणाली अनिवार्य गर्ने योजना रहेको छ। यसबाट यात्रु सुरक्षा, दुर्घटना न्यूनीकरण, गुनासो व्यवस्थापन तथा चालक र सवारीधनीको जिम्मेवारी निर्धारणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रविधिमैत्री सार्वजनिक यातायात प्रणालीतर्फ अघि बढिरहेको काठमाडौंमा यस्तो व्यवस्थाले यात्रुको विश्वास बढाउनुका साथै सार्वजनिक यातायात क्षेत्रलाई थप पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।