काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिसिर खनालले चीन भ्रमणका क्रममा चीन-नेपाल सम्बन्धलाई 'वण्डरफुल' अर्थात् अद्भुत भन्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बन्दै गएको बताएका छन्।
चिनियाँ सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा मन्त्री खनालले नेपाल र चीनबीच पर्यटन, व्यापार, पूर्वाधार विकास तथा जनस्तरको सहकार्य निरन्तर विस्तार भइरहेको उल्लेख गरेका छन्। उनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिँदै हिमाली पर्यटनका विविध सम्भावनाबारे चर्चा गरेका थिए।
भ्रमणका क्रममा नेपाल र चीनबीच हवाई सम्पर्क, व्यापारिक ढुवानी तथा पर्यटन सुरक्षासम्बन्धी विभिन्न परियोजनाहरूलाई पनि महत्वका साथ प्रस्तुत गरिएको छ। चिनियाँ पक्षले अघि बढाएको बेल्ट एण्ड रोड पहलअन्तर्गत नेपालमा पूर्वाधार तथा कनेक्टिभिटी विस्तारका कार्यक्रमहरूलाई सहकार्यको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
दुवै देशका अधिकारीहरूले राजनीतिक विश्वास, आपसी सम्मान र दीर्घकालीन सहकार्यलाई सम्बन्धको प्रमुख आधार बताएका छन्। नेपालले एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको छ भने चीनले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाएको छ।
स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा सञ्चालन भएका जनकल्याणकारी परियोजनाहरूले पनि दुई देशबीचको सम्बन्धलाई थप नजिक बनाएको बताइएको छ। ग्रामीण क्षेत्रमा अस्पताल, विद्यालय र स्वास्थ्य केन्द्र निर्माणजस्ता कार्यक्रमहरूलाई सहयोगको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
सात दशकभन्दा लामो कूटनीतिक सम्बन्धको इतिहास बोकेका नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा पूर्वाधार, व्यापार, पर्यटन र जनस्तरको आदानप्रदानमा उल्लेखनीय वृद्धि भएको दाबी गरिएको छ। दुवै पक्षले आगामी दिनमा पनि सहकार्यलाई थप विस्तार गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।