काठमाडौं । चारपटकको विश्व च्याम्पियन जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टविरुद्ध १-० ले पछि परेको अवस्थाबाट फर्किँदै जर्मनीले २-१ को रोमाञ्चक जित निकालेको हो।
जर्मनीको जितका नायक बने वैकल्पिक खेलाडी डेनिज उन्डाभ। दोस्रो हाफमा मैदान प्रवेश गरेका उन्डाभले दुई गोल गर्दै आफ्नो टोलीलाई हारको मुखबाट निकालेर अन्तिम ३२ मा पुर्याए। खेलको ३०औँ मिनेटमा कप्तान फ्राङ्क केस्सीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफभर जर्मनीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन र अफ्रिकी टोलीले दबाब कायम राख्यो।
दोस्रो हाफमा प्रशिक्षक युलियन नागेल्समानले रणनीतिक परिवर्तन गर्दै बेन्चका खेलाडीहरू मैदानमा उतारे। यही निर्णय जर्मनीका लागि खेलको टर्निङ प्वाइन्ट बन्यो।
६८औँ मिनेटमा नादिम अमिरीको शानदार क्रसलाई डेनिज उन्डाभले उत्कृष्ट फिनिसिङ गर्दै जर्मनीलाई बराबरीमा ल्याए। त्यसपछि खेल बराबरीतर्फ अघि बढिरहेको बेला इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए।
अन्तिम सिटी बज्नुअघि आएको उक्त गोलले जर्मन समर्थकलाई खुसीको उत्सव मनाउने अवसर दियो भने आइभरी कोस्टका लागि हार झन् पीडादायी बन्यो। लगातार दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गरेका उन्डाभ अहिले जर्मनीका ‘सुपर सब’का रूपमा उदाएका छन्। यसअघि कुरासाओविरुद्ध ७-१ को फराकिलो जितमा पनि उनले गोल गरेका थिए र दुई गोलका लागि अवसर सिर्जना गरेका थिए।
यो जितसँगै जर्मनीले समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। उता आइभरी कोस्टले भने अन्तिम खेलमा कुरासाओविरुद्ध जित निकाल्न सके शीर्ष ३२ मा पुग्ने आशा कायम राख्नेछ।
एक समय हारको संघारमा पुगेको जर्मनीले अन्तिम क्षणसम्म संघर्ष गर्दै आफ्नो च्याम्पियन मानसिकता प्रस्तुत गरेको छ। र, त्यो पुनरागमनको केन्द्रमा थिए-डेनिज उन्डाभ।