काठमाडौं । उत्तर अमेरिकामा जारी विश्वकपको समूह ‘सी’ अन्तर्गत शनिबार हुने खेलहरूले नकआउट चरणको समीकरण थप रोचक बनाउने भएका छन्। सबैको नजर भने पाँचपटकको विश्वविजेता ब्राजिल र हाइटीबीचको प्रतिस्पर्धामाथि केन्द्रित छ।
नेपाली समयअनुसार शनिबार बिहान ६स्१५ बजे फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डमा ब्राजिलले हाइटीको सामना गर्नेछ। यसअघि बिहान ३स्१५ बजे समूहको शीर्ष टोली स्कटल्यान्ड र मोरक्को आमनेसामने हुनेछन्। उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिलले प्रतियोगिताको सुरुआती खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। मोरक्कोसँग १-१ को बराबरीमा रोकिएको ब्राजिललाई भिनिसियस जुनियरको गोलले हारबाट जोगाएको थियो। त्यसैले हाइटीविरुद्धको खेल ब्राजिलका लागि केवल तीन अंकको मात्र होइन, आत्मविश्वास पुनःस्थापित गर्ने अवसर पनि बनेको छ।
बराबरीपछि ब्राजिल समूहको शीर्ष स्थानमा रहेको स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ। यदि हाइटीविरुद्ध पनि अपेक्षित नतिजा निकाल्न नसके अन्तिम खेलमा स्कटल्यान्डसँग दबाबपूर्ण परिस्थितिमा मैदान उत्रिनुपर्नेछ। इतिहास भने ब्राजिलकै पक्षमा छ। दुई टोलीबीच भएका तीनवटै भेटमा ब्राजिल विजयी भएको छ। सन् २०१६ को कोपा अमेरिकामा ब्राजिलले हाइटीलाई ७-१ ले पराजित गरेको थियो। समग्रमा हाइटीविरुद्ध ब्राजिलले १७ गोल गरिसकेको छ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस खेलमा सुरुआती रोजाइमा केही परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ। ड्यानिलो, एलेक्स सान्ड्रो, फाबिन्हो, लुइज हेनरिक र माथेउस कुन्हाले अवसर पाउन सक्ने सम्भावना छ। फिटनेस समस्याका कारण नेयमार लगातार दोस्रो खेल गुमाउने अवस्थामा छन् भने आक्रमणको जिम्मेवारी भिनिसियस जुनियर र राफिन्हामाथि रहनेछ।
यता हाइटीका लागि विश्वकपमा सहभागिता नै ऐतिहासिक उपलब्धि हो। सन् १९७४ पछि विश्वकप खेलिरहेको टोलीले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध हार बेहोरे पनि प्रभावशाली प्रदर्शन गरेको थियो। मुख्य प्रशिक्षक सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डलाई केवल एक गोलमा सीमित राख्दै अनुशासित खेल प्रस्तुत गरेको थियो।
यद्यपि ब्राजिलविरुद्धको चुनौती निकै कठिन हुनेछ। मोरक्कोले स्कटल्यान्डलाई पराजित गरेको अवस्थामा हाइटीमाथि थप दबाब पर्नेछ र ब्राजिलसँग हार व्यहोरे नकआउट चरणको सम्भावना लगभग समाप्त हुन सक्छ। तर यस विश्वकपमा लगातार अप्रत्याशित नतिजाहरू आइरहेकाले हाइटी अर्को ठूलो चमत्कार र ब्राजिललाई स्तब्ध बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ।
अब हेर्न बाँकी छ-ब्राजिलले आफ्नो दबदबा कायम राख्छ कि हाइटीले विश्व फुटबललाई फेरि एकपटक चकित पार्छ।