काठमाडौं । नेपाली फिल्म ‘रोल नं १’ले दर्शक संख्या बढाउने उद्देश्यसहित टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। जेठ १५ गतेदेखि प्रदर्शनमा रहेको फिल्मको टिकट अब नियमित मूल्यभन्दा आधा दरमा उपलब्ध हुने भएको हो।
निर्माता विनोद पौडेलका अनुसार विद्यार्थी, अभिभावक तथा विद्यालयहरूको विशेष आग्रहपछि देशभरका हलमा यो छुट योजना लागू गरिएको हो। छुट प्राप्त गर्न दर्शकले खल्ती एपमार्फत टिकट बुक गर्नुपर्ने व्यवस्था गरिएको छ।
पछिल्लो समय बलिउडमा पनि दर्शक हलसम्म तान्न विभिन्न फिल्महरूले टिकटमा भारी छुट दिने रणनीति अपनाइरहेका छन्। सोही प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा पनि देखिन थालेको छ। ‘रोल नं १’ टिकटमा ५० प्रतिशत छुट दिने पहिलो नेपाली फिल्म भने होइन।
जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सुवास गजुरेल, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मले बालबालिकामाथि अभिभावकले दिने शैक्षिक दबाब, त्यसका कारण उत्पन्न मानसिक तनाव तथा त्यसले पार्ने सामाजिक प्रभावको कथा प्रस्तुत गरेको छ। टिकट मूल्य घटाउने निर्णयले फिल्मको व्यापारमा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि बढेको छ।