काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव कम गर्ने उद्देश्यसहित १४ बुँदे समझदारीपत्र (एमओयू) मा सहमति भएको छ। समझदारीसँगै दुवै देशले आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध र क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा नयाँ चरणको वार्ता प्रक्रिया अघि बढाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानको तर्फबाट उक्त समझदारीलाई अनुमोदन गरिएको हो। यससँगै होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने, इरानको समृद्ध युरेनियम भण्डारण व्यवस्थापन गर्ने तथा चरणबद्ध रूपमा आर्थिक प्रतिबन्ध खुकुलो बनाउने विषयमा सहमति जुटेको बताइएको छ।
समझदारीपत्रअनुसार इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ भने समृद्ध युरेनियमको व्यवस्थापनबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा थप छलफल गरिनेछ। साथै, दुवै पक्षले तत्काल सैन्य गतिविधि अन्त्य गर्ने र क्षेत्रीय तनाव घटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच अमेरिकाले समुद्री नाकाबन्दी तथा सम्बन्धित प्रतिबन्ध हटाउने प्रक्रिया सुरु गर्ने भएको छ भने इरानले प्रारम्भिक ६० दिनसम्म होर्मुज जलमार्गबाट व्यापारिक जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्ने सहमति जनाएको छ।
समझदारीमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने, आर्थिक सहुलियत विस्तार गर्ने तथा २५० देखि ३०० अर्ब अमेरिकी डलरसम्मको पुनर्निर्माण र आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने विषय पनि समेटिएको बताइएको छ।
दुवै पक्षले ६० दिनभित्र अन्तिम सम्झौताको वार्ता टुंग्याउने लक्ष्य राखेका छन्। आवश्यक परे पारस्परिक सहमतिमा वार्ताको अवधि थप गर्न सकिने व्यवस्था पनि गरिएको छ। यद्यपि समझदारीबारे विस्तृत संयुक्त आधिकारिक घोषणा भने अझै सार्वजनिक गरिएको छैन।