काठमाडौं । धनकुटाका विभिन्न क्षेत्रमा अमेरिकन फौजीकिराको प्रकोप बढ्दै जाँदा मकैबालीमा ठूलो क्षति पुगेको छ। विशेषगरी पाख्रीबास नगरपालिका र महालक्ष्मी नगरपालिकाका किसानहरू मकैबाली सुक्न थालेपछि चिन्तित बनेका छन्।
पाख्रीबास नगरपालिका-५ दियालेका किसान देवेन्द्रबहादुर निरौलाका अनुसार फौजीकिराको आक्रमणका कारण मकैबाली बारीमै सुक्न थालेको छ। कठिन मेहनतपछि लगाइएको मकैबाली उत्पादन दिनुअघि नै नष्ट हुन थालेपछि किसानहरू आर्थिक संकटमा परेका छन्। विषादी प्रयोग गरे पनि ठूलो क्षेत्रफलमा फैलिएको किरालाई नियन्त्रण गर्न कठिन भएको उनी बताउँछन्।
स्थानीय किसान अमरबहादुर तामाङले १८ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली पनि फौजीकिराको आक्रमणबाट प्रभावित भएको जानकारी दिए। उनका अनुसार पर्याप्त वर्षा नहुँदा किराको प्रकोप झन् बढेको छ। विगतमा स्थानीय सरकारले विषादी वितरण गरे पनि यस वर्ष कुनै सहयोग नपाएको किसानहरूको गुनासो छ।
किसानहरूका अनुसार फौजीकिराले रातको समयमा सक्रिय भई मकैका पात र गाभा खाने गर्छ, जसका कारण कलिला बोट पहेँलिएर सुक्ने गरेका छन्। डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवा लगायत क्षेत्रहरूमा यसको प्रभाव बढी देखिएको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले स्थानीय तहसँगको समन्वयमा विषादी वितरण तथा नियन्त्रणका प्रयास भइरहेको बताए। धनकुटामा करिब १३ हजार ४७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरे पनि जङ्गली जनावर, रोग तथा कीराको प्रकोप र बसाइँसराइका कारण खेतीयोग्य क्षेत्र घट्दै गएको तथ्याङ्कले देखाएको छ।
फौजीकिराको बढ्दो प्रकोपले मकै उत्पादन मात्र नभई पशुचौपायाका लागि आवश्यक घाँससमेत प्रभावित बनेको भन्दै किसानहरूले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।