काठमाडौं । नेपाली चिया क्षेत्र यतिबेला गम्भीर संकटको सामना गरिरहेको छ। भारतीय बजारमा उत्पन्न निर्यात अवरोधका कारण इलामका अधिकांश चिया उद्योग बन्द भएका छन् भने झापाका उद्योगहरू पनि बन्द हुने तयारीमा छन्। मुख्य उत्पादन सिजनकै समयमा उद्योगहरू ठप्प हुँदा किसानको हरियो पत्ती बारीमै खेर जाने अवस्था सिर्जना भएको छ।
इलामको सूर्योदय नगरपालिका लगायतका प्रमुख चिया उत्पादन क्षेत्रका किसानहरू अहिले गम्भीर चिन्तामा छन्। चियाका बोटहरूमा प्रशस्त मुना लागे पनि उद्योग बन्द भएपछि पत्ती टिप्ने र बिक्री गर्ने बाटो बन्द भएको छ। किसानहरूका अनुसार मुख्य सिजनमा प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्म बिक्री हुने हरियो पत्ती अहिले बारीमै थन्किएको छ।
चिया उद्योगीहरूका अनुसार भारतीय टी बोर्डले लागू गरेको नयाँ प्रक्रियाले नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना गरेको छ। भारत पुगेको चियालाई गोदाममा राख्ने, नमूना परीक्षण गर्ने र प्रयोगशालाको प्रतिवेदन नआएसम्म बिक्री गर्न नदिने व्यवस्थाले व्यापारिक चक्र नै अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ।
यसकै कारण इलामबाट मात्रै करिब २ लाख ५० हजार किलो अर्थोडक्स चिया भारतीय गोदामहरूमा रोकिएको अनुमान छ। सिटिसी चिया समेत जोड्दा यो परिमाण ३ लाख किलोभन्दा बढी पुगेको बताइन्छ। नेपालभित्रका उद्योगहरूमा समेत १० देखि १५ लाख किलो तयारी चिया बिक्री हुन नसकी थन्किएको अवस्था छ।
चिया उद्योग बन्द हुँदा यसको असर किसानमा मात्र सीमित छैन। चिया टिप्ने, बोक्ने, प्रशोधन गर्ने र प्याकिङमा संलग्न हजारौं मजदुरको रोजीरोटी पनि संकटमा परेको छ। चिया क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका करिब ६५ हजार रोजगारी जोखिममा परेको सरोकारवालाहरूको भनाइ छ।
उद्योगीहरूले सरकारले समयमै कूटनीतिक पहल गर्न नसक्दा समस्या झन् जटिल बनेको आरोप लगाएका छन्। संसदमा समेत यो विषय उठ्न थालेको छ। प्रतिनिधिसभा सदस्यहरूले सरकारले तत्काल भारतसँग वार्ता गरी निर्यातमा देखिएको अवरोध हटाउनुपर्ने र दीर्घकालीन रूपमा नेपाली चियाको बजार भारतबाहेक अन्य मुलुकमा विस्तार गर्नुपर्ने माग गरेका छन्।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने चिया क्षेत्रले गत वर्ष मात्रै करिब ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। तर अहिले त्यही क्षेत्र अस्तित्वको संकटमा पुगेको भन्दै किसान, मजदुर र उद्योगीहरू तत्काल सरकारी हस्तक्षेपको अपेक्षामा छन्।