काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलो म्याचिङ लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन्। महानगरको शिक्षा क्षेत्रमा पारदर्शी र व्यवस्थित छनोट प्रक्रियाको उदाहरण मानिएको यस कार्यक्रमबाट हजारौँ विद्यार्थी लाभान्वित भएका छन्।
महानगरको शिक्षा विभागका शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार शैक्षिक सत्र २०८३/८४ का लागि छात्रवृत्ति छनोट परीक्षाको अन्तिम योग्यता सूचीमा परेका विद्यार्थीमध्ये तीन हजार ७३५ जनाको नाम पहिलो म्याचिङ लिष्टमा प्रकाशित गरिएको थियो। तीमध्ये तीन हजार ५१ जना सम्बन्धित शिक्षण संस्थामा भर्ना भइसकेका छन्।
भर्ना भएका विद्यार्थीमध्ये विज्ञान संकायमा सबैभन्दा धेरै एक हजार ९०१ जना रहेका छन्। त्यसपछि व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका छन्।
विद्यालयहरूले भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गरेपछि रिक्त रहेका सिटका आधारमा परीक्षा समितिले दोस्रो म्याचिङ लिष्ट सार्वजनिक गरेको छ। दोस्रो सूचीमा ४८६ जना विद्यार्थीको नाम सिफारिस गरिएको छ। यसमा विज्ञानतर्फ ३२३ जना, व्यवस्थापनतर्फ १४५ जना, कानुनतर्फ १५ जना, मानविकीतर्फ एक जना र शिक्षातर्फ दुई जना विद्यार्थी रहेका छन्।
विद्यार्थीहरूले आवेदनका क्रममा छनोट गरेको विषय र शिक्षण संस्थाको प्राथमिकता, साथै साधारण तथा आरक्षण समूहअन्तर्गत तोकिएको सिट सङ्ख्याका आधारमा सूची तयार गरिएको समितिले जनाएको छ।
म्याचिङ लिष्टमा परेका विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी मनोनयन पत्र डाउनलोड तथा प्रिन्ट गर्न सक्नेछन्। उक्त मनोनयन पत्र लिएर असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्नेछ। तोकिएको समयभित्र भर्ना नभए सम्बन्धित विद्यार्थीको छात्रवृत्तिमा अध्ययन गर्ने अधिकार स्वतः रद्द हुने समितिले जनाएको छ।
समितिले असार ३ गतेपछि तेस्रो म्याचिङ लिष्ट पनि प्रकाशन गर्ने तयारी गरेको छ।
यस वर्ष महानगरले १४५ वटा शिक्षण संस्थाका लागि कुल चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको थियो। तीमध्ये विज्ञानका लागि दुई हजार ३७१, व्यवस्थापनका लागि एक हजार ५४९, कानुनका लागि ७५, मानविकीका लागि ४९ तथा शिक्षाका लागि सात कोटा छुट्याइएको छ।
छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते सञ्चालन गरिएको थियो। परीक्षाको प्रारम्भिक नतिजा जेठ १८ गते र अन्तिम योग्यता सूची जेठ २१ गते प्रकाशित गरिएको थियो। महानगरको यो छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका तथा योग्य विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ।