काठमाडौं । विश्वको आठौँ अग्लो शिखर मनास्लु हिमालको सफल आरोहण तथा पर्वतीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएका २७ जना आरोही, पर्यटन व्यवसायी र सरोकारवालालाई सम्मान गरिएको छ। चुमनुब्री गाउँपालिकाले नेपाल पर्वतारोहण संघ र मनास्लु संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेको हो।
मनास्लु हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित कार्यक्रममा नेपालको पर्वतीय पर्यटनलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोरखाका व्यक्तित्वहरूलाई सम्मान गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।
चुमनुब्री गाउँपालिका-१ मा अवस्थित ८,१६३ मिटर अग्लो मनास्लु हिमाल सन् १९५६ मे ९ मा पहिलो पटक जापानी आरोही टोसी इमानोसी र नेपाली आरोही ग्याल्जेन नोर्बु शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए। सो ऐतिहासिक उपलब्धिको ७०औँ वर्षगाँठको अवसरमा यस वर्ष सामागाउँमा पहिलो आरोहीहरूको शालिक अनावरण गर्नुका साथै उनीहरूका परिवारलाई समेत सम्मान गरिएको अध्यक्ष लामाले बताउनुभयो।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका सूचना अधिकारी भुवन ओझाका अनुसार मनास्लु क्षेत्र विश्वभरका पर्वतारोहीको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सुरक्षित, दिगो र समुदायमैत्री पर्यटन विकासमा स्थानीय समुदायको सक्रिय भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा मनास्लु क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने पर्यटन व्यवसायीलाई समेत सम्मान गरिएको थियो।
चुमनुब्री गाउँपालिकाले यस्ता सम्मान कार्यक्रमले पर्वतीय पर्यटन क्षेत्रमा थप उत्साह र ऊर्जा थप्ने, मनास्लु क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार-प्रसारमा टेवा पुर्याउने तथा स्थानीय समुदाय र पर्यटन क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।