काठमाडौं । लगातारको वर्षा, बाढी, पहिरो तथा विभिन्न स्थानमा भइरहेको सडक मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ। केही सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यकाको वैकल्पिक प्रवेश मार्गका रूपमा प्रयोग हुने सतुङ्गल-चित्लाङ सडक खण्ड चन्द्रागिरी नगरपालिका-९ स्थित देउराली देवीस्थानमा खसेको पहिरो र सडक मर्मतका कारण जेठ १६ गतेदेखि पूर्ण रूपमा बन्द छ। सम्बन्धित निकायका अनुसार उक्त सडक अझै करिब एक महिनासम्म सञ्चालनमा आउन नसक्ने अवस्था रहेको छ।
यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा सडक स्तरोन्नति तथा मर्मत कार्य भइरहेकाले कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं सडक खण्ड पनि जेठ १५ गतेदेखि एक महिनाका लागि बन्द गरिएको छ।
पूर्वी नेपालमा पनि वर्षाले सडक सञ्जाल प्रभावित बनेको छ। इलामको पुवाखोलामा आएको लेदोसहितको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ।
खोटाङको पङ्खु खोलामा जेठ २ गते खसेको पहिरो अझै हटाउन नसक्दा त्यहाँको यातायात सेवा ठप्प छ। भोजपुरको बोखिम र पाँचथरको दोभान क्षेत्रमा बाढीले सडक क्षतिग्रस्त बनाउँदा ती क्षेत्रमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। उता, बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सुरक्षालाई प्राथमिकता दिँदै सम्बन्धित निकायले यो निर्णय गरेको जनाएको छ।
मौसम प्रतिकूल रहँदा सडकको अवस्था क्षण-क्षणमा परिवर्तन हुन सक्ने भएकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको ताजा जानकारी लिन र आवश्यक सतर्कता अपनाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।