काठमाडौं । इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकी हमलाको प्रतिकारस्वरूप यो कदम चालिएको भन्दै इरानी अधिकारीहरूले कुनै पनि जहाजले उक्त जलमार्ग पार गर्न खोजे लक्षित गरिने चेतावनी दिएका छन्।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको तथा हालै भएका हमलापछि स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
फारसको खाडीलाई विश्व बजारसँग जोड्ने यो साँघुरो समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात हुने गर्छ। साउदी अरब, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता प्रमुख ऊर्जा उत्पादक राष्ट्रहरूको निर्यात यही मार्गमा निर्भर छ।
इरानको घोषणापछि विश्व ऊर्जा बजारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ। विश्लेषकहरूले तेल आपूर्ति ठप्प हुने अवस्था सिर्जना भए ब्रेन्ट क्रुडको मूल्य १५० देखि २०० अमेरिकी डलर प्रतिव्यारेलसम्म पुग्न सक्ने अनुमान गरेका छन्। यसले विश्वव्यापी मुद्रास्फीति बढ्नुका साथै आर्थिक मन्दीको जोखिम पनि थप बढाउने देखिन्छ।
भारत, चीन, जापान र दक्षिण कोरियाजस्ता ऊर्जा आयातमा निर्भर मुलुकहरू सबैभन्दा बढी प्रभावित हुन सक्ने बताइएको छ। युरोपेली मुलुकहरूमा समेत इन्धन अभावको जोखिम देखिएको छ। यसबीच सयौं तेल ट्यांकर समुद्री मार्गमै रोकिएको र युद्धजन्य जोखिमका कारण बीमा कम्पनीहरूले कभरेज दिन अस्वीकार गरेपछि व्यापारीहरू थप अन्योलमा परेका छन्।
यसको प्रत्यक्ष असर नेपालमा पनि पर्न सक्ने देखिएको छ। नेपालले भारतमार्फत पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि भए पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्न सक्छ। त्यसले ढुवानी खर्च, औद्योगिक उत्पादन तथा कृषि क्षेत्रमा अतिरिक्त आर्थिक दबाब सिर्जना गर्ने सम्भावना छ।
अमेरिका र इजरायलसँग इरानको तनाव चुलिँदै गएका बेला स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा युद्धको अर्को चरणतर्फको संकेतका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल संयमता अपनाउन, वार्ताको माध्यमबाट समाधान खोज्न र समुद्री मार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।