काठमाडौं । काठमाडौं महानगरपालिकाले चलचित्र क्षेत्रलाई समुदायसँग नजिक बनाउने उद्देश्यले ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र उनीहरूको योगदानलाई स्थानीय तहबाट सम्मान गर्ने लक्ष्यसहित महानगरले यो कार्यक्रम अघि बढाएको हो।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागमार्फत सञ्चालन हुन लागेको उक्त कार्यक्रमअन्तर्गत विभिन्न टोल, चोक तथा सार्वजनिक स्थानहरूमा फिल्म प्रदर्शन गरिनेछ। महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले फिल्म क्षेत्रका सबै विधालाई समुदायसँग जोड्दै चलचित्रकर्मीप्रति सम्मानको भावना विकास गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनका अनुसार चलचित्र क्षेत्रलाई सम्मानित पेशाका रूपमा समाजमा स्थापित गर्न र समुदायस्तरमै चलचित्र संस्कृतिको विकास गर्न महोत्सव आयोजना गर्न लागिएको हो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह तथा पुचःहरूलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
फिल्म प्रदर्शनका लागि परम्परागत टोल, वहाः, बही, चोक, ननी, एम्पीथिएटर तथा पार्कजस्ता खुला सार्वजनिक स्थानहरू छनोट गरिने महानगरले जनाएको छ। यसका लागि इच्छुक संघसंस्थाहरूबाट खुला प्रस्ताव आह्वान गरिएको छ। महानगरको वेबसाइटमार्फत जेठ २७ गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ।
समुदायस्तरमा कार्यक्रम सफल बनाउन इच्छुक संस्थाहरूलाई सहकार्यका लागि प्रस्ताव पेश गर्न सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले आग्रह गरेकी छन्।
कार्यक्रमलाई उद्देश्यअनुरूप, गुणस्तरीय र व्यवस्थित बनाउन चलचित्रको विषयवस्तु, प्रस्तुति तथा छनोट प्रक्रियाको अनुगमन, नियमन र मूल्यांकनका लागि आशामान सङ्गतको संयोजकत्वमा विशेष समिति समेत गठन गरिएको महानगरले जनाएको छ।