काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव चर्किँदै जाँदा त्यसको प्रत्यक्ष प्रभाव विश्वव्यापी तेल बजारमा देखिएको छ। अमेरिकी सेनाले इरानका सैन्य संरचनामाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १ प्रतिशतले वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ८३ सेन्ट अर्थात् ०.९ प्रतिशतले बढेर प्रतिव्यारेल ९२.२९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई (WTI) क्रुडको मूल्य ६८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर प्रतिव्यारेल ८८.९७ डलरमा कारोबार भइरहेको छ।
यसअघि तेलको मूल्य सात साताकै न्यून स्तरमा झरेको थियो। तर, पश्चिम एसियामा बढ्दो सैन्य तनाव र विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग होर्मुज स्ट्रेटसँग जोडिएका जोखिमका कारण बजार पुनः उकालो लागेको विश्लेषकहरूले बताएका छन्।
अमेरिकी पक्षका अनुसार इरानले होर्मुज स्ट्रेट नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालेपछि त्यसको जवाफस्वरूप इरानको केशम टापुस्थित सैन्य संरचनामाथि आक्रमण गरिएको हो। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जारी गरेको वक्तव्यमा अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले इरानका वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन तथा निगरानी राडार केन्द्रहरूलाई लक्षित गरी ‘सटीक हतियार’ प्रयोग गरेर हमला गरेको जनाएको छ।
सेन्टकमका अनुसार अमेरिकी सेना, क्षेत्रीय साझेदार र अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालन भइरहेका व्यावसायिक जहाजहरूको सुरक्षामाथि खतरा उत्पन्न भएपछि उक्त सैन्य कारबाही गरिएको हो। साथै अमेरिकाले आफ्नो सैन्य अभियान पूरा भएको दाबी गरेको छ।
विश्लेषकहरूका अनुसार होर्मुज स्ट्रेट विश्व तेल आपूर्तिको महत्वपूर्ण नाकामध्ये एक भएकाले यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तत्काल प्रभाव पार्ने गर्दछ। यदि अमेरिका-इरान तनाव अझ बढ्दै गएमा आगामी दिनमा तेलको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।