काठमाडौं । काठमाडौंमा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित तथा प्रतिस्पर्धामा सहभागी भएका छ वटा चिनियाँ फिल्महरूको विशेष प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको छ। ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आयोजित यो कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिनसम्म सञ्चालन गरिएको थियो।
चीन चलचित्र प्रशासन तथा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सहकार्यमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममार्फत चिनियाँ चलचित्रलाई नेपाली दर्शकमाझ प्रस्तुत गर्नुका साथै नेपाल-चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखिएको थियो।
तीन दिनमा कुल नौ शो प्रदर्शन गरिएका फिल्महरू करिब १४ सय दर्शकले हेरेको आयोजकले जनाएको छ। दर्शकहरूले विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा समेत व्यावसायिक रूपमा प्रदर्शन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रमपछि चिनियाँ चलचित्रकर्मीहरूले नेपाली बजारलाई गम्भीरतापूर्वक लिन थालेको महसुस भएको बताए। उनले नेपाल र चीनबीच चलचित्र आदान-प्रदान विस्तार हुँदै जाने विश्वास व्यक्त गरे।
नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चाउ प्यानले चलचित्रलाई दुई देशबीचको सांस्कृतिक आदान–प्रदानको सबैभन्दा जीवन्त माध्यमका रूपमा व्याख्या गरे। उनले यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने बताए।
कार्यक्रमको पहिलो दिन ‘द ट्र्याप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन गरिएको थियो। दोस्रो दिन ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भए भने अन्तिम दिन ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन गरिएको थियो।
फिल्म ‘द ट्र्याप्ड’ सस्पेन्स–क्राइम जनरामा आधारित छ, जसमा जेलबाट भागेको एक गुण्डाले सहरमा मच्चाएको घटनालाई काल्पनिक कथामा प्रस्तुत गरिएको छ। ‘बियोन्ड द स्काइज’ सन् १९३५ को चिनियाँ गृहयुद्धको पृष्ठभूमिमा बनेको युद्धकथा हो, जसमा एक युवा कम्युनिस्ट सिपाहीको जोखिमपूर्ण अभियान देखाइएको छ।
त्यस्तै ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालकले आफ्नी आमाको खोजीमा सहरसम्मको यात्रा गर्दा आउने परिवर्तनको कथामा आधारित छ। ‘द स्याडोलेस टावर’ एक असफल वृत्तचित्र निर्माताको जीवन र रहस्यमयी भेटघाटको कथा प्रस्तुत गर्छ। ‘जर्नी टु द वेस्ट’ हास्य-विज्ञान कथामा आधारित छ, जसमा एलियन खोजीको रमाइलो यात्रा देखाइएको छ। ‘लस्ट इन द स्टार्स’ सस्पेन्स-क्राइम जनराको फिल्म हो, जुन वास्तविक घटनाबाट प्रेरित छ र हराइरहेकी श्रीमतीको रहस्यमय घटनाक्रमलाई केन्द्रमा राख्छ।
कार्यक्रम चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयअन्तर्गतका कन्फुसियस इन्स्टिच्युटहरूले पनि कार्यक्रमलाई सहयोग गरेका थिए।
आयोजकहरूले यस्ता कार्यक्रमले नेपाल-चीनबीच चलचित्र क्षेत्रको सहकार्य विस्तार गर्दै भविष्यमा दुवै देशका फिल्म बजारलाई आपसी रूपमा जोड्ने अपेक्षा व्यक्त गरेका छन्।