काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरूको अभिलेख अद्यावधिक नभएको तथा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको विषयमा चासो व्यक्त गर्दै सूचना जारी गरेको छ।
मन्त्रालयका अनुसार अध्ययन बिदा वा असाधारण बिदा अवधि समाप्त भइसकेपछि पनि केही कर्मचारी सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, सम्पर्कविहीन रहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो।
जारी सूचनाअनुसार अध्ययन तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गराउनुपर्नेछ।
त्यसैगरी, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन निर्देशन दिइएको छ।
मन्त्रालयले अध्ययन वा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।
सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ।