काठमाडौं । अफ्रिकी मुलुक कंगो र युगान्डामा इबोला भाइरसको नयाँ प्रकोप देखिएपछि नेपाल सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेसँगै नेपालले निगरानी तथा तयारीका कामलाई तीव्र बनाएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार इबोला संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि परीक्षण क्षमता, स्वास्थ्यकर्मीको तयारी, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायहरूको समीक्षा भइरहेको छ। मन्त्रालयले मातहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रणसम्बन्धी निकायहरूसँग समन्वय गरेर आवश्यक तयारी अघि बढाएको जनाएको छ।
संक्रमित व्यक्ति नेपाल भित्रन सक्ने सम्भावित प्रवेशविन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। यात्रुको स्वास्थ्य परीक्षण, संक्रमणसम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको पहिचान तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रियस्तरको इमर्जेन्सी मेडिकल टिमलाई समेत सक्रिय बनाइएको छ। साथै, डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार विभिन्न देशहरूसँग सूचना आदानप्रदान तथा सहकार्यलाई पनि तीव्र पारिएको छ।
यद्यपि स्वास्थ्य मन्त्रालयले तत्काल नेपालमा इबोला संक्रमणको भय नरहेको स्पष्ट पारेको छ। जोखिमयुक्त क्षेत्रबाट फर्कने सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएकाले हाल आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ।
इबोला भाइरस मुख्यतः संक्रमित जंगली जनावरको रगत, जैविक रस तथा मासुको सम्पर्कबाट मानिसमा सर्ने गर्छ। विशेषगरी चमेरा, चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर तथा अन्य वन्यजन्तुबाट मानिसमा संक्रमण फैलिन सक्ने बताइन्छ। संक्रमित व्यक्तिको रगत, पसिना, थुक, वीर्य तथा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि रोग सर्ने जोखिम रहन्छ।
उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, कमजोरी महसुस हुने, घाँटी र पेट दुख्ने, भोक हराउने तथा सास फेर्न गाह्रो हुने इबोलाका प्रारम्भिक लक्षण हुन्। संक्रमण गम्भीर बन्दै जाँदा बान्ता, पखाला, छालामा रातो धब्बा, कलेजो र मृगौलामा समस्या तथा शरीरका विभिन्न अंगबाट रगत बग्ने जस्ता जटिल अवस्था देखिन सक्छन्।
हालसम्म इबोलाको पूर्ण प्रभावकारी औषधि उपलब्ध नभएकाले संक्रमितको विशेष स्याहार–सुसार नै उपचारको मुख्य आधार मानिन्छ। पर्याप्त तरल पदार्थ, पोषणयुक्त आहार तथा स्वास्थ्य निगरानीमार्फत बिरामीको अवस्था व्यवस्थापन गरिन्छ। विज्ञहरूले संक्रमणको जोखिम कम गर्न व्यक्तिगत सरसफाइ, संक्रमित व्यक्तिबाट दूरी कायम गर्ने तथा स्वास्थ्य निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।