काठमाडौं । नेपालमा १२ वर्षमुनिका बालबालिकामा समेत सुर्तीजन्य पदार्थ सेवन गर्ने लत देखिएको चिन्ताजनक तथ्य सार्वजनिक भएको छ। ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा प्रस्तुत अध्ययन प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीका अनुसार देशका सातै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत करिब तीन हजार विद्यार्थीमा गरिएको अध्ययनले १० वर्षमुनिका बालबालिकासमेत चुरोट सेवनमा संलग्न रहेको देखाएको हो। अध्ययनमा ५७ प्रतिशत सुर्ती सेवनकर्ताले बिहान उठ्नेबित्तिकै चुरोट सेवन गर्ने गरेको तथा ७४ प्रतिशतले चुरोट छोड्ने प्रयास गरे पनि सफल हुन नसकेको तथ्य पनि उल्लेख गरिएको छ।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरूले किशोरकिशोरीलाई लक्षित गर्दै हुक्का, भेपलगायतका स्वादयुक्त र सुगन्धित उत्पादनमार्फत लत बढाउने रणनीति अपनाएको बताउनुभयो। उहाँले बालबालिका तथा किशोरकिशोरीमा चुरोट, भेप र हुक्काको प्रयोग बढ्दै गएको भन्दै यसको रोकथामका लागि राष्ट्रिय अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा। अनुज भट्टचनले सुर्तीजन्य पदार्थलाई “सामाजिक विष” को संज्ञा दिँदै यसको नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।
त्यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्यायले घरपरिवारबाटै सुर्तीजन्य पदार्थ त्याग्ने अभियान सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा स्वास्थ्य अभियन्ताहरूले युवापुस्तालाई लक्षित गरेर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणका लागि कडा नीति र प्रभावकारी अभियान सञ्चालन गर्न सरकारलाई आग्रह गरेका थिए।
नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांकसमेत प्रस्तुत गरिएको छ। चिकित्सकहरूका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग तथा मधुमेहजस्ता नसर्ने रोगहरूको जोखिम उल्लेखनीय रूपमा बढाउँछ।