काठमाडौं । निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘रोल नं १’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। सुरुवाती व्यापार अपेक्षाअनुसार नभए पनि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
काठमाडौंका विभिन्न चलचित्र हलमा फिल्म हेरेका दर्शकहरूले ‘रोल नं १’ले आफूलाई बाल्यकालका दिनहरूमा फर्काएको प्रतिक्रिया दिएका छन्। विद्यालय जीवन, पढाइको दबाब, अभिभावकको अपेक्षा र बालबालिकाको मानसिक अवस्थालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको भन्दै फिल्मको प्रशंसा भइरहेको छ।
धेरै दर्शकले सामाजिक सञ्जालमार्फत फिल्मले नेपालको शिक्षा प्रणालीबारे गम्भीर बहस सिर्जना गरेको उल्लेख गरेका छन्। कतिपयले अभिभावकले आफ्ना सन्तानमाथि अनावश्यक शैक्षिक दबाब दिनुभन्दा अघि यो फिल्म हेर्नुपर्ने सुझाव समेत दिएका छन्। फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाप्रति निर्माता विनोद पौडेल उत्साहित देखिएका छन्। उनले ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा प्राप्त भएको दर्शकीय प्रतिक्रियाको झल्को पुनः महसुस भइरहेको बताए।
उनले भने, “फिल्म हेरेपछि दर्शकहरूले विभिन्न माध्यमबाट दिनुभएको प्रतिक्रियाले मन नै फुरुङ्ग भएको छ। धेरैले आफ्नै जीवन र संघर्ष पर्दामा देखेको अनुभूति गर्नुभएको छ। दर्शकको यही आत्मीयताले ‘पूर्ण बहादुरको सारङ्गी’लाई ऐतिहासिक सफलता दिलाएको थियो। ‘रोल नं १’ले पनि त्यही बाटो समाउने विश्वास लिएको छु।”
जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मले अभिभावकले आफ्नो प्रतिष्ठा र अपेक्षाका लागि सन्तानमाथि थोपर्ने पढाइको दबाब तथा त्यसले बालबालिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाएको छ। यही कारण फिल्मले विशेषगरी विद्यार्थी, अभिभावक र शिक्षासँग सम्बन्धित वर्गबीच चर्चा बटुल्न थालेको छ।