काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाले आफ्नो त्रिपक्षीय सुरक्षा गठबन्धन ‘ओकस’ अन्तर्गत पानीमुनि सञ्चालन हुने मानवरहित ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा आयोजित सुरक्षा शिखर सम्मेलनका क्रममा तीन देशका रक्षा मन्त्रीहरूले समुद्री सुरक्षा र रक्षा क्षमतालाई थप सुदृढ बनाउने उद्देश्यसहित उक्त परियोजना सार्वजनिक गरेका हुन्।
बीबीसीका अनुसार ‘अनक्रुड अन्डरसी भेहिकल’ (यूयूभी) भनिने यो प्रविधि आगामी वर्षसम्ममा तयार हुने अपेक्षा गरिएको छ। यद्यपि परियोजनाको कुल लागत खुलाइएको छैन। बेलायतका रक्षामन्त्री जोन हेलीले भने आफ्नो देशले यस परियोजनाका लागि १५ करोड पाउन्ड लगानी गर्ने जानकारी दिएका छन्।
सन् २०२१ मा स्थापना भएको ओकस सुरक्षा साझेदारीले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच आणविक पनडुब्बी विकास, प्रविधि आदानप्रदान तथा सैन्य सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ। नयाँ यूयूभी परियोजनालाई पनि यही रणनीतिक सहकार्यको महत्वपूर्ण हिस्साका रूपमा हेरिएको छ। विश्लेषकहरूले यस कदमलाई इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो समुद्री प्रभाव र दक्षिण चीन सागरजस्ता विवादित क्षेत्रहरूमा बढिरहेको तनावको सन्दर्भमा प्रतिरोधात्मक क्षमता विस्तार गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
तीन देशद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार विकसित हुने पानीमुनिका ड्रोनहरूले समुद्री पूर्वाधारको सुरक्षा, निगरानी, सम्भावित आक्रमण तथा रसद सामग्री ढुवानीजस्ता कार्य गर्न सक्नेछन्। परियोजनाअन्तर्गत अत्याधुनिक पेलोड प्रणाली र उन्नत प्रविधियुक्त उपकरण विकास गरिने जनाइएको छ।
ओकस राष्ट्रहरूले यो प्रविधिले भविष्यको समुद्री सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। बढ्दो भू-राजनीतिक प्रतिस्पर्धाबीच पानीमुनि सञ्चालन हुने मानवरहित प्रणालीहरू आगामी दशकको रणनीतिक सैन्य प्रतिस्पर्धाको केन्द्र बन्न सक्ने अनुमान गरिएको छ।