काठमाडौं । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’ भन्ने नारासहित अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार सगरमाथा दिवस भव्य रूपमा मनाइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट शुभारम्भ भएको कार्यक्रममा महावाणिज्यदूत लक्ष्मण खनालले सगरमाथा दिवसको महत्वबारे प्रकाश पार्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका विषयमा जानकारी गराएका थिए। उनले सहभागीहरूलाई आगामी भ्रमण गन्तव्यका रूपमा नेपाल रोज्न आग्रह गर्दै पर्यटन प्रवर्द्धनमा सगरमाथाको योगदान महत्वपूर्ण रहेको बताए।
महावाणिज्यदूत खनालले मार्च २०२६ मा नेपालमा सुशासन र आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाउँदै बलियो जनादेश प्राप्त सरकार गठन भएको उल्लेख गरे। उनले सरकारले लगानीमैत्री नीतिगत सुधार तथा प्रोत्साहन कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै पूर्वाधार, पर्यटन, सेवा क्षेत्र तथा सूचना प्रविधि उद्योगमा लगानीका सम्भावनाहरूको अध्ययन गर्न व्यवसायीहरूलाई आग्रह गरे।
कार्यक्रममा अमेरिकी विदेश मन्त्रालयको स्यान फ्रान्सिस्कोस्थित विदेशी नियोग कार्यालयका क्षेत्रीय निर्देशक जोन वाई चोईले सगरमाथा दिवसको अवसरमा नेपाल र नेपाली समुदायलाई बधाई दिँदै पछिल्ला वर्षहरूमा अमेरिका-नेपाल सम्बन्ध थप सुदृढ बन्दै गएको बताए। उनले उच्चस्तरीय भ्रमण, संवाद र सहकार्यले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरे।
क्यालिफोर्नियाका लेफ्टिनेन्ट गभर्नरका वैदेशिक मामिला सल्लाहकार इभान रिडले क्यालिफोर्निया र नेपालबीच व्यापार, पर्यटन, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। रिचमण्ड सहरका मेयर एडुआर्डो मार्टिनेजले नेपाली समुदायको सामाजिक तथा आर्थिक योगदानको प्रशंसा गर्दै सगरमाथा दिवस मनाउन पाएकोमा खुशी व्यक्त गरे।
हर्कुलस सिटीका निर्वाचित काउन्सिल सदस्य दिली भट्टराईले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा ७३ वर्षअघि गरिएको सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक महत्वबारे चर्चा गर्दै उक्त उपलब्धिले विश्वभरका मानिसलाई प्रेरणा दिइरहेको बताए।
कार्यक्रममा क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीकी अनुसन्धानकर्ता नीमा शेर्पाले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरबारे आफ्नो अनुसन्धान प्रस्तुत गरिन्। पाँच पटक सगरमाथा आरोहण गरिसकेका ल्हाक्पा नोर्बु शेर्पाले उच्च हिमाली क्षेत्रमा देखिएका जलवायु परिवर्तनका प्रभावबारे अनुभव सुनाए भने मेघा शर्माले आफ्नो एभरेष्ट बेस क्याम्प यात्राका अनुभव साझा गर्दै नेपाल भ्रमणका लागि आग्रह गरिन्।
त्यस अवसरमा स्यान फ्रान्सिस्को बे क्षेत्रमा बसोबास गर्ने चार जना सगरमाथा आरोहीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसकी प्राध्यापक तथा पूर्व पिस कोर्प्स स्वयंसेवक डा। फेथ बाउचरले नेपाल र नेपाली समुदायसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव सुनाइन्। कार्यक्रममा विभिन्न सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, शिक्षाविद्, अनुसन्धानकर्ता, उद्यमी तथा नेपाली समुदायका प्रतिनिधिसहित ७० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।
महावाणिज्य दूतावासले सगरमाथा दिवसले नेपालको राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै नेपाल–अमेरिका सम्बन्ध, पर्यटन, लगानी आकर्षण तथा सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।