काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै संघीय संसद् सचिवालयको झण्डा फहराएका छन् । बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको शिखरमा पुगेर आफ्नो ‘सदनदेखि शिखरसम्म’ अभियान सफल बनाएका हुन् ।
यो शेर्पाको १०औँ सफल सगरमाथा आरोहण हो । सामाजिक सञ्जालमार्फत उनले अभियान सफल भएको जानकारी दिँदै सहयोग, शुभकामना र हौसलाका लागि सबैप्रति आभार व्यक्त गरेका छन् ।
शेर्पाका अनुसार मौसम प्रतिकूलताका कारण पहिलो प्रयासमा योजना अनुसार सातौँ दिनमै शिखर पुग्न सम्भव भएको थिएन । उनले क्याम्प-४ बाट करिब ८ हजार ४ सयदेखि ८ हजार ५ सय मिटरसम्म पुगेपछि तीव्र हावाहुरीका कारण फर्किनुपरेको बताएका छन् । त्यसपछि दोस्रो प्रयासमा नवौँ दिनमा सफल आरोहण सम्भव भएको उनले उल्लेख गरेका छन् ।
उनले यसपटकको आरोहण आफ्ना लागि विशेष अनुभव भएको पनि बताएका छन् । काठमाडौं छाडेको पाँचौँ दिनमै ७ हजार १ सय मिटरसम्म पुगेको उल्लेख गर्दै यति छोटो समयमा सगरमाथा आरोहण गर्ने साहस यसअघि नगरेको प्रतिक्रिया दिएका छन् ।
सांसद शेर्पाले संसद्मा हिमाल, पर्यटन तथा पर्वतारोहणसँग सम्बन्धित नीतिगत विषयमा काम गर्ने जिम्मेवारी रहेकाले अभियानलाई छोटो समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । उनले यही जेठ ५ गते काठमाडौंबाट सगरमाथा बेसक्याम्प पुगेर अभियान सुरु गरेका थिए । अभियानअघि प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले उनलाई प्रतिनिधिसभाको झण्डा हस्तान्तरण गर्दै औपचारिक बिदाइ गरेका थिए ।
शेर्पाको यो अभियानलाई नेपालको पर्वतीय पर्यटन, हिमाल संरक्षण र राष्ट्रिय पहिचानसँग जोडिएको प्रतीकात्मक यात्राका रूपमा समेत हेरिएको छ ।