काठमाडौं । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले आगामी पाँच वर्ष विश्वका लागि इतिहासकै सबैभन्दा तातो, अस्थिर र जोखिमपूर्ण समय बन्न सक्ने चेतावनी दिएको छ । सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी तापक्रम लगातार रेकर्ड स्तरमा रहने वा नयाँ कीर्तिमान कायम हुने उच्च सम्भावना रहेको डब्लुएमओको नयाँ प्रतिवेदनले औँल्याएको हो ।
प्रतिवेदनअनुसार सन् २०२६-२०३० को पाँच वर्षे औसत तापक्रम पूर्व-औद्योगिक काल अर्थात् सन् १८५०-१९०० को औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ । यसलाई जलवायु संकटको गम्भीर संकेतका रूपमा हेरिएको छ ।
डब्लुएमओका अनुसार सन् २०१५ यताका ११ वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्षका रूपमा अभिलेख भएका छन् । अबको केही वर्षमै त्यो रेकर्ड पुनः तोडिने सम्भावना अत्यधिक रहेको चेतावनी दिइएको छ । सङ्गठनले सन् २०२६ र २०३० बीचको कम्तीमा एक वर्षले सन् २०२४ लाई उछिन्दै नयाँ “सबैभन्दा तातो वर्ष” बन्ने सम्भावना ८६ प्रतिशत रहेको जनाएको छ ।
प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोपमा असामान्य गर्मी बढेको छ । बेलायत र फ्रान्समा मे महिनाकै तापक्रमले नयाँ रेकर्ड कायम गरिरहेका छन् । वैज्ञानिकहरूका अनुसार ‘तातो गुम्बज’ भनिने उच्च तापीय प्रणालीका कारण युरोपका धेरै क्षेत्र चरम गर्मीको चपेटामा परेका हुन् ।
यसैबीच ‘एल निनो’ जलवायु चक्रले तापक्रमलाई अझ बढाउन सक्ने अनुमान गरिएको छ । डब्लुएमओका जलवायु विज्ञ लियोन हर्मनसनका अनुसार सन् २०२६ को अन्त्यतिर एल निनो विकसित हुनसक्ने संकेत देखिएको छ, जसले सन् २०२७ लाई थप तातो वर्ष बनाउन सक्छ । एल निनो एउटा प्राकृतिक जलवायु प्रक्रिया हो, जसले प्रशान्त महासागरको सतही तापक्रम बढाउँछ । यसको प्रभावले विश्वभर वर्षा, हावाको गति र मौसम प्रणालीमा व्यापक परिवर्तन ल्याउने गर्छ ।
सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने लक्ष्य तय गरेको थियो । तर पछिल्ला तथ्याङ्कहरूले विश्व त्यो सीमाभन्दा माथि पुग्ने जोखिमतर्फ तीव्र रूपमा अघि बढिरहेको संकेत गरेका छन् । डब्लुएमओले आगामी वर्षहरूमा आर्कटिक क्षेत्र विश्व औसतभन्दा तीन गुणा छिटो तातिने चेतावनी पनि दिएको छ । साथै साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा हुने तथा अमेजन क्षेत्रमा गम्भीर सुक्खापन कायम रहने अनुमान गरिएको छ ।
विशेषज्ञहरूका अनुसार जलवायु संकट अब भविष्यको चुनौती मात्र होइन, वर्तमान विश्वको सबैभन्दा ठूलो मानवीय, आर्थिक र वातावरणीय संकटको रूपमा देखिन थालेको छ । यदि कार्बन उत्सर्जन नियन्त्रण र वातावरणीय प्रतिबद्धतामा विश्व गम्भीर नबन्ने हो भने आगामी दशक झन् विनाशकारी बन्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।