काठमाडौं । मध्यपूर्वमा फेरि तनाव चर्किन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः बढ्न थालेको छ भने एशियाली शेयर बजारमा गिरावट आएको छ । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेको समाचार सार्वजनिक भएसँगै विश्व ऊर्जा बजार र लगानीकर्तामा पुनः त्रास बढेको हो ।
बिहीबार बिहानको अन्तर्राष्ट्रिय कारोबारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ । अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ९५ डलर नाघेको छ भने अमेरिकी कच्चा तेलको मूल्य पनि उकालो लागेको छ । बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वमा युद्धविराम कमजोर बन्दै गएको संकेतले तेल आपूर्तिमाथि थप दबाब सिर्जना गरेको हो ।
अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी सेनाले इरानका चारवटा ड्रोन खसाल्नुका साथै दक्षिणी सहर बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको छ । अमेरिकाले उक्त कारबाहीलाई ‘रक्षात्मक कदम’ भनेको छ । तर इरानले भने हर्मुज जलडमरूमध्य क्षेत्रमा चार जहाजमाथि गोली प्रहार भएको जनाएको छ ।
विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलडमरूमध्य क्षेत्रमा महिनौंदेखि तनाव कायम रहँदा अन्तर्राष्ट्रिय बजार निरन्तर प्रभावित हुँदै आएको छ । विश्वको ठूलो परिमाणको तेल ढुवानी यही मार्ग हुँदै हुने भएकाले कुनै पनि सैन्य तनावले सीधा असर विश्व अर्थतन्त्रमा पर्ने गर्दछ ।
यता कुवेतले आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय बनाउँदै मिसाइल तथा ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । यद्यपि एक इरानी अधिकारीले अमेरिका-इरानबीच पूर्ण युद्धको सम्भावना कम रहेको बताएका छन् । तर अमेरिकी राष्ट्रपतिले शान्ति सम्झौता नभए ‘कडा कदम चालिने’ चेतावनी दिएपछि क्षेत्रीय अस्थिरता अझ बढ्ने संकेत देखिएको छ ।
यसैबीच एशियाली शेयर बजारमा पनि नकारात्मक प्रभाव देखिएको छ । हङकङसहित अधिकांश एशियाली सूचकांक ओरालो लागेका छन् । लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुन थालेपछि शेयर बजार दबाबमा परेको विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार अमेरिका-इरान तनाव लम्बिँदै गए विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति, मुद्रास्फीति र अन्तर्राष्ट्रिय व्यापारमा थप दबाब पर्न सक्ने खतरा बढेको छ ।