काठमाडौं । इजरायलले हिजबुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र पार्दै दक्षिण लेबनानका धेरै क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको छ । इजरायली सेनाले ती क्षेत्रका बासिन्दालाई तत्काल स्थान खाली गर्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)ले सीमावर्ती क्षेत्रका नागरिकलाई जाहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको छ । उक्त नदी इजरायल-लेबनान सीमाबाट करिब ४० किलोमिटर टाढा पर्दछ । आईडीएफले हिजबुल्लाहले पटक-पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै अब “अत्यधिक बल प्रयोग” गरेर कारबाही गरिने चेतावनी दिएको छ । गत अप्रिल १७ मा लागू भएको युद्धविरामपछि पहिलोपटक यति ठूलो क्षेत्र खाली गर्न आदेश जारी गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस आदेशले लेबनानी भूभागको झन्डै १४ प्रतिशत हिस्सा समेटेको छ ।
यसअघि बुधबार इजरायलले दक्षिणी लेबनानको प्रमुख सहर टायरमा हवाई आक्रमण गरेको थियो । हिजबुल्लाहले भने इजरायल आफैंले युद्धविराम तोडेको आरोप लगाउँदै आफ्ना लडाकु र इजरायली सेनाबीच भिडन्त भएको दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहूले जमिनमा सैन्य अभियान थप विस्तार गर्ने घोषणा गरेलगत्तै यी आक्रमणहरू भएका हुन् । दक्षिण लेबनानमा तैनाथ इजरायली सैनिक र उत्तरी इजरायलका नागरिकलाई लक्षित गर्दै हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि इजरायलले थप कडा कदम चालेको बताइएको छ ।
आईडीएफले पछिल्लो २४ घण्टामा मात्रै क्षेत्र खाली गर्नेसम्बन्धी नौवटा चेतावनी जारी गरेको छ । यसले इजरायल-लेबनान सीमामा तनाव झन् चर्किने र ठूलो संख्यामा सर्वसाधारण विस्थापित हुने चिन्ता बढाएको छ ।
दक्षिण लेबनानको ठूलो सहर टायरमा जारी गरिएको खाली गर्ने आदेशपछि त्यहाँ लगातार हवाई आक्रमण भएका थिए । मानवीय सहायता निकाय र स्थानीय अधिकारीहरूले राजधानी बेरुतको दक्षिणमा रहेको सिडोन सहरले विस्थापित परिवारहरूको बढ्दो चाप धान्न कठिन भइरहेको बताएका छन् । उनीहरूले नागरिकलाई थप सुरक्षित मानिएको बेका उपत्यका र माउन्ट लेबनान क्षेत्रतर्फ जान आग्रह गरेका छन् ।
यसैबीच, लेबनानी सञ्चारमाध्यमहरूले दक्षिण लेबनान र पूर्वी बेका उपत्यकामा इजरायलले व्यापक आक्रमण गरेको जनाएका छन् । चौकिन र नबातिह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।