काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रोल नं १’ले दर्शकमाझ विशेष भिडियो प्रतियोगिता घोषणा गरेको छ। निर्माण टिमले ‘लौ सुन म भन्छु मेरो स्कुले कहानी’ शीर्षकमा प्रतियोगिता आयोजना गर्दै उत्कृष्ट भिडियो बनाउने सहभागीलाई नगद पुरस्कार प्रदान गर्ने जनाएको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो स्कुले जीवनका अविस्मरणीय अनुभव भिडियोमार्फत प्रस्तुत गर्नुपर्नेछ। भिडियोमा आफ्नो परिचयसँगै विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ। साथै शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती तथा विद्यालय जीवनका रमाइला सम्झनालाई भिडियोमा समेट्न आग्रह गरिएको छ।
निर्माण पक्षका अनुसार सहभागीले तयार पारेको भिडियो आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्नेछ। प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै २० जनालाई सान्त्वना पुरस्कारस्वरूप फिल्मको एक-एक टिकट प्रदान गरिनेछ। विजेताको घोषणा जेठ २५ गते गरिने जनाइएको छ।
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल तथा सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। उनले यसअघि ‘आँखा’ निर्देशन गरेका थिए।