काठमाडौं । सरकारले विद्यालय तहको शिक्षा प्रणालीमा व्यापक संरचनागत सुधारको तयारी थालेको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक सत्र, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली तथा शिक्षक व्यवस्थापनलाई एकीकृत ढाँचामा अघि बढाउने तयारी गरेको हो।
यसैअनुसार कक्षा ११ को भर्ना प्रक्रिया आगामी असार १ गतेदेखि सुरु गरिने भएको छ। मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव वीरबहादुर धामी ले असार १ गतेदेखि पहिलो चरणको भर्ना सुरु हुने जानकारी दिएका छन्। सोही दिनदेखि एसईई ग्रेडवृद्धि परीक्षा पनि सञ्चालन हुने भएकाले त्यसको नतिजा १० दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए।
मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्रलाई एकीकृत बनाउने उद्देश्यले नयाँ ढाँचामा छलफल अघि बढाएको जनाएको छ। हालसम्म वैशाख १५ गतेदेखि सुरु हुँदै आएको शैक्षिक सत्र अब कक्षा १ देखि १२ सम्म एउटै प्रणालीमा सञ्चालन गर्ने योजना बनाइएको छ। यसका लागि बालचन्द्र लुइँटेल को संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ। कार्यदललाई प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने जिम्मेवारी दिइएको छ। मन्त्रालयका अनुसार कार्यदललाई ६ महिनाको कार्यादेश दिइएको छ।
त्यसैगरी शिक्षक सरुवा निर्देशिका-२०८१ पनि निष्क्रिय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको निर्देशनअनुसार प्रत्यायोजित विधायन ऐनअन्तर्गत दर्ता नभएका कार्यविधि स्वतः निष्क्रिय हुने प्रावधानका कारण उक्त निर्देशिका लागू नहुने भएको हो। अब शिक्षक सरुवासम्बन्धी काम शिक्षा नियमावली-२०५९ को नियम ९९ अनुसार सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले छुट्टै कार्यविधि ल्याउनुको सट्टा शिक्षा नियमावली संशोधन गर्ने तयारी थालेको छ।
मन्त्रालयका अनुसार सस्मित पोखरेल को अग्रसरतामा नियमावली संशोधन प्रक्रिया अघि बढाइएको छ। संशोधन प्रक्रिया पूरा भएपछि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठ ले ल्याएको शिक्षक सरुवा निर्देशिकामाथि नेपाल शिक्षक महासंघ ले व्यवहारिक कार्यान्वयनका विषयमा आपत्ति जनाएको थियो।