काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नियमन तथा एकीकृत निर्देशन उल्लंघन गरेको भन्दै हिमालयन बैंकमाथि कारबाही गरेको छ । जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा विभिन्न नीतिगत कमजोरी र निर्देशनविपरीतका गतिविधि भेटिएपछि राष्ट्र बैंकले बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालाई सचेत गराएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिएको निरीक्षणका क्रममा बैंकले सीमित ऋणीहरूलाई तोकिएको प्रिमियम दरमा ‘ब्याक डेट’ अर्थात् पछाडिको मितिदेखि लागू हुने गरी छुट दिएको पाइएको राष्ट्र बैंकले जनाएको छ । उक्त छुट रकम बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरिएको समेत भेटिएको छ ।
त्यस्तै, तोकिएको समयसीमा नाघेपछि मात्रै ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गरिएको पाइएको छ । राष्ट्र बैंकका अनुसार बैंकले पुनरतालिकीकरण गरिएका कर्जामध्ये भाखा नाघेको किस्ताको साँवालाई मात्रै सो वर्गमा राखी बाँकी रकमलाई ‘असल कर्जा’कै रूपमा वर्गीकरण गरेको थियो । यसबाट पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसका अतिरिक्त केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, ऋणीहरूको भुक्तानी अवधि लामो समयसम्म अस्थायी रूपमा बढाइएको तथा ९० दिनभन्दा बढी बक्यौता रहेका ‘फोर्स लोन’लाई समेत खराब कर्जाको रूपमा वर्गीकरण नगरेको पाइएको छ । राष्ट्र बैंकले यी कार्यहरू एकीकृत निर्देशन २०८१ विपरीत रहेको जनाएको छ ।
उक्त कमजोरी तथा निर्देशन उल्लंघनपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो । साथै, ऐनको दफा १०० को उपदफा १ (ख) अनुसार आगामी दिनमा सुधार गर्ने प्रतिबद्धतासहित सञ्चालक समितिबाट कबुलियतनामा समेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।